काठमाडौं । गृहमन्त्री सुदन गुरुङले २७ दिनको कार्यकालपछि पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानीसम्बन्धी विषय सार्वजनिक भएपछि उत्पन्न विवादको नैतिक जिम्मेवारी लिँदै उनले बुधबार पद त्यागको घोषणा गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पदबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीसमक्ष पत्राचार गरेपछि गुरुङले राजीनामा दिएका हुन्। दियोपोस्ट डटकमले दीपक भट्टसँगको सम्भावित साझेदारीका प्रमाण सार्वजनिक गरेपछि उनी आलोचनामा तानिएका थिए।
आफ्नो वक्तव्यमा गुरुङले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक सम्हाल्दै आएको उल्लेख गरेका छन्। तर पछिल्ला दिनमा आफ्नो शेयर सम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नहरूलाई गम्भीरतापूर्वक लिएको उनले बताएका छन्।
“मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा ठूलो शक्ति केही हुँदैन,” उनले बताएका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता बढिरहेको अवस्थामा सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।
आफूसँग जोडिएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा त्यसमा प्रभाव पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको छु,” उनले उल्लेख गरेका छन्।
यसका साथै उनले सञ्चारकर्मी, नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मअनुशासनको बाटोमा अघि बढ्न आह्वान गरेका छन्। परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक पर्ने उनको भनाइ छ।
गुरुङको राजीनामासँगै राजनीतिक वृत्तमा यसको प्रभाव र आगामी घटनाक्रमबारे चासो बढेको छ।