काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ स्थित सेनागढीमा रहेका दुई मन्दिरबीच विवाद चर्किएको छ। एउटै स्थानमा निर्माण गरिएका दुई फरक मन्दिरका पक्षधरबीच स्वामित्व, प्रयोग र व्यवस्थापनको विषयलाई लिएर तनाव बढ्दै गएको हो।
स्थानीयका अनुसार सेनागढी डाँडामा करिब २० वर्षअघि पहिलो मन्दिर निर्माण गरिएको थियो, जसको अध्यक्ष रामबहादुर विश्वकर्मा रहेका छन्। त्यसपछि करिब ७ वर्षअघि सोही स्थानमा अर्को मन्दिर निर्माण गरियो, जसको अध्यक्ष सुरज बराल हुन्।
रामबहादुरका अनुसार आफूहरूले पहिलेदेखि पूजा गर्दै आएको मन्दिरमा पछिल्लो समयमा अवरोध सिर्जना गरिएको छ। ‘हामीले पहिले नै मन्दिर निर्माण गरेर कुलपूजा गर्दै आएका थियौँ। पछि अर्को समूह आएर हाम्रै मन्दिरको छेउमा मन्दिर बनाए। सुरुमा केही भनेनौँ, तर पछि पूजा गर्न अवरोध गर्ने, गेटमा ताला लगाउने जस्ता गतिविधि हुन थालेपछि हामी बोल्न थालेका हौँ,’ उनले भने।
उनका अनुसार उक्त विषयमा वडा कार्यालय हुँदै गाउँपालिकासम्म उजुरी गर्दा पनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। गाउँपालिकाबाट करिब साढे ७ लाख बजेट लिएर निर्माण गरिएको मन्दिरको नामसमेत पछि परिवर्तन गरिएको आरोप विश्वकर्माको छ।
उक्त स्थानमा पर्खाल र गेट निर्माणका लागि पनि गाउँपालिकाले बजेट उपलब्ध गराएको बताइएको छ। तर सार्वजनिक प्रयोजनका लागि दिइएको बजेट व्यक्तिगत कुलपूजा मन्दिरमा प्रयोग भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
यता, बराल पक्षका लक्ष्मण बरालले एउटै स्थानमा दुई मन्दिर हुँदा भविष्यमा द्वन्द्व बढ्न सक्ने भन्दै एउटा मन्दिर हटाउन प्रस्ताव गरिएको बताएका छन्। ‘दुईवटा मन्दिर हुँदा एउटै समयमा पूजा गर्ने अवस्था आउँदा समस्या हुन सक्छ। त्यसैले एउटा मन्दिर हटाएर खर्चसमेत दिने प्रस्ताव गरेका हौँ,’ उनले भने।
तर मन्दिर निर्माण भइसकेपछि मात्र यस्तो प्रस्ताव ल्याइएको विषयमा प्रश्न उठ्दा उनले असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिन अस्वीकार गरेका थिए। यस विषयमा फोनमार्फत प्रतिकृया लिन खोज्दा लक्ष्मण दियोपोष्टकर्मी पत्रकारसंग गाली गलौजमा उत्रिए । ‘तपाई गाउँमै आएर हामीसंग कुरा गर्नुस । फोनबाट इन्टरभ्यू लिने होइन । अलिकति पत्रकारिताको धर्म पुरा गर्नुस,’ उनले भने ।
यता, सार्वजनिक स्थानमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको उक्त मन्दिर र मन्दिर क्षेत्रमा रहेको जग्गाको स्वामित्व एकलौटी ढंगले लक्ष्मण पक्षधरले लिन खोजेको आरोप छ । २० वर्ष पहिलेदेखि मन्दिर बनाएर कुलपुजा गर्दै आएको समुहलाई बिस्थापित गरेर एकलौटी स्वामित्व लिन खोज्नु गैर कानुनी रहेको स्थानीयको भनाई छ ।
बराल कुलपूजा मन्दिरका अध्यक्ष सुरज बराल भने विवादबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँछन्। ‘दुवै मन्दिर सार्वजनिक स्थानमा बनेका छन्। कसैले ताला लगाउने वा हटाउने कुरा गलत हो। केही सदस्यबाट अवरोध भएको सुनेको छु, तर विस्तृत जानकारी छैन,’ उनले भने।
यता, पीडित रामबहादुर विश्वकर्मा भने दुवै पक्षबीच सहमति आवश्यक रहेको बताउँछन्। उनका अनुसार दुवै मन्दिर सार्वजनिक स्थलमा निर्माण गरिएको हुँदा दुबै पक्षको बराबर अधिकार रहन्छ। ‘यदि समस्या छ भने दुई मन्दिरबीच पर्खाल लगाएर छुट्टै व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रस्ताव गरेका थियौँ, तर त्यो पनि स्वीकार गरिएको छैन,’ उनले बताए।
यस विषयमा प्रतिकृया लिन खोज्दा गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराई सम्पर्कमा अएनन् । स्थानीयस्तरमा समाधान हुन नसकेको यो विवाद अहिले गाउँपालिकासम्म पुगे पनि स्पष्ट निर्णय आउन सकेको छैन। सार्वजनिक सम्पत्तिको उपयोग, धार्मिक सह-अस्तित्व र स्थानीय सहमतिका आधारमा समाधान खोज्नुपर्ने स्थानीयको माग छ ।


