सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं- सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा एक दलित युवकको शंकास्पद मृत्यु भएको छ। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २२ वर्षीय श्रीकृष्ण विक मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार, विकले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेका हुन्। मृतक विकलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी गत वैशाख ३ गते म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले आत्महत्या भने तापनि मृतकका परिवार र आफन्तले घटनालाई रहस्यमय मान्दै स्वीकार गर्न इन्कार गरेका छन्। उनीहरूका अनुसार यो आत्महत्या नभई सुनियोजित घटना हुन सक्ने भन्दै सत्यतथ्य छानबिनको माग गरिएको छ।

मृतक युवकले मगर थरकी एक किशोरीसँग प्रेम सम्बन्धमा रही आपसी सहमतिमै विवाहका लागि भगाएको परिवारको दाबी छ। अन्तरजातीय विवाह रोक्नका लागि किशोरीका परिवारले योजनाबद्ध रूपमा ‘जबरजस्ती करणी’को झुठा मुद्दा दर्ता गराएर फसाएको उनीहरूको आरोप छ।

प्रहरीको उच्च सुरक्षा घेराभित्र रहने थुनुवा कक्षमा युवकको मृत्यु हुनुले प्रहरी प्रशासनको लापर्बाही वा संलग्नता रहेको आशंका आफन्तले गरेका छन्।

घटनापछि मृतकका आफन्त र दलित अधिकारकर्मीहरूले सत्य–तथ्य सार्वजनिक गर्न र दोषी देखिएका पक्षलाई कानुनी दायरामा ल्याउन माग गर्दै दबाब दिइरहेका छन्।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारीले दिएका जानकारी अनुसार, मृतकका परिवार पोस्टमार्टमका लागि सहमत भएका छन्। उनका अनुसार, थुनुवा कक्षको शौचालयमा आफ्नै शर्टको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका विकको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

किशोरी नाबालिग रहेकाले उनी विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भई वैशाख ३ गतेदेखि म्याद थपेर अनुसन्धान भइरहेको थियो।

 सूचना अधिकारीका अनुसार घटनाको निष्पक्षता जाँच गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

आँखाले नदेखिने तथ्यहरू पोस्टमार्टम रिपोर्टले खुलाउनेछ,” सूचना अधिकारीले भने। यद्यपि, केही प्राविधिक कारणले आज पनि पोस्टमार्टम हुन नसकिरहेको समेत उनले दियोपोस्टलाई बताए।

सिफारिस