सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राजविराजमा रहेको गजेन्द्रनारायण सिंहको शालिकमा माला फालेको घटनालाई लिएर मधेशमा विरोध भएको छ। मधेशका गौरव गजेन्द्रनारायण सिंहको शालिकमा फालिनुले मधेश र मधेशी जनताको अपमान गरिएको भन्दै बिरोध भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले उक्त कार्यले मधेश र मधेशी जनताको अपमान गरेको भन्दै बालेनको कार्यप्रति आपत्ति जनाएका छन्।
सप्तरीको राजगढ गाउँपालिका-३, नर्घो गाउँमा मङ्गलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेन्द्र साहको शैलीलाई ‘स्टन्ट’ को संज्ञा दिए। उनका अनुसार चुनावी ‘रोड शो’ का क्रममा राजविराज पुगेका बालेन्द्रले गजेन्द्रचौकस्थित गजेन्द्रनारायण सिंहको शालिकमा सम्मानपूर्वक माल्यार्पण गर्नुको सट्टा माला फालेर अनादर गरेका हुन्।
नेता साहले स्टन्टले देश नचल्ने टिप्पणी गर्दै आफू पनि लामो समयदेखि आन्दोलनमा सक्रिय रहेको उल्लेख गरे। उनले भने, “ऊ बालेन्द्र शाह हो भने म पनि शैलेन्द्र साह हुँ। मैले २५ वर्षसम्म आन्दोलनका क्रममा देश र मधेशी जनताका लागि जेल-नेल भोगेको छु।”
उनले मधेशी जनताको हक-हितका लागि अन्य दलले प्रभावकारी आवाज नउठाएको आरोप लगाउँदै तत्कालीन मधेशी जनअधिकार फोरम (हालको जसपा नेपाल)ले कठोर संघर्षमार्फत मधेशी जनताको अधिकार र पहिचान स्थापित गरेको दाबी गरे।
त्यसैगरी, उनले रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप दोहोर्याए। भ्रष्टाचार र ठगीका आरोपमा मुछिएका व्यक्तिहरूले सुशासन र परिवर्तनको कुरा गर्नु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।
कार्यक्रममा उनले अधिकार र विकासका लागि जसपा नेपालका उम्मेदवारलाई भारी मतले विजयी गराउन आग्रह गरे।