३० वर्षमा पनि अधुरै हुलाकी सडक: कांग्रेस-कम्युनिस्ट सरकार जिम्मेवार रहेको उपेन्द्र यादवको आरोप

दियोपोस्ट संवाददाता

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी सडक तीन दशक बितिसक्दा पनि पूरा हुन नसक्नुमा कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताएका छन्।

सप्तरीको राजगढ गाउँपालिका-३ नर्घोमा मंगलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशलाई योजनाबद्ध रूपमा पछाडि पारिएको आरोप लगाएका हुन् ।

पहाडी जिल्लाहरूमा सडक सञ्जाल विस्तार हुँदै गए पनि मधेशमा अझै आधारभूत पूर्वाधारको अभाव रहेको उनको भनाइ थियो।
उनले भने, “मधेशको लाइफलाइन हुलाकी सडक ३० वर्षसम्म पनि अधुरै छ, तर मदन भण्डारी द्रुतमार्ग भने छोटो अवधिमै सम्पन्न भयो। यसका लागि कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार छन्।” हुलाकी सडक निर्माणका लागि भारत सरकारबाट प्राप्त रकमसमेत सदुपयोग हुन नसकेको उनले टिप्पणी गरे।

अध्यक्ष यादवले महेन्द्र राजमार्ग निर्माणको सन्दर्भ उल्लेख गर्दै तत्कालीन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूबीच सहमति भएअनुसार मधेशका सदरमुकाम हुँदै राजमार्ग लैजानुपर्नेमा नियतवश अन्यत्र मोडिएको दाबी गरे।

त्यस्तै, बारामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ४ अर्ब रुपैयाँ मुआब्जा खर्च भइसक्दा पनि अगाडि नबढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “यदि विमानस्थल बनेको भए अन्तर्राष्ट्रिय उडान सञ्चालन भई मधेशको समग्र विकासमा टेवा पुग्ने थियो,” उनले भने।

सुनकोसी–मरिन डाइभर्सन आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा ठेक्का तोडेर काम रोकिएको आरोप लगाउँदै उनले आपत्ति जनाए। उक्त आयोजनाबाट मधेशका लाखौँ विघा जमिनमा सिँचाइ सुविधा पुग्ने उनले बताए।

कांग्रेस र कम्युनिस्ट सरकारले मधेशका ठूला विकास आयोजना अवरुद्ध गरेको आरोप लगाउँदै यादवले मधेशी जनताले अधिकार र विकासका लागि आफ्नै शक्ति सुदृढ बनाउनुपर्ने धारणा राखे। विगतमा निर्वाचित भई पनि विकास नगर्ने प्रतिनिधिहरूलाई कामको आधारमा मूल्याङ्कन गरी मत दिन उनले आग्रह गरे।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, “यदि अघिल्ला प्रतिनिधिहरूले विकास र अधिकारको लडाइँ लडेका छन् भने मत दिऔँ, नभए जनताले जवाफ दिनुपर्छ।”

आफू सप्तरी-२ बाट सांसद हुँदा विगत ५० वर्षमा हुन नसकेको विकास कार्य अघि बढाएको दाबी गर्दै उनले ती कामले निरन्तरता नपाएकोमा दुःख व्यक्त गरे।

कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जसपा नेपालकी नेतृ एवं पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य किरण साह, केन्द्रीय सदस्यहरू पुष्पा ठाकुर, विदेश्वर प्रसाद यादव ‘बिक्की’, मधेश प्रदेशकी पूर्व उपसभामुख उपमा देव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र प्रसाद यादव लगायतले मन्तव्य राखेका थिए।

अध्यक्ष यादवसहितका नेताहरूले राजगढ गाउँपालिका-३ अन्तर्गत कट्टी, नर्घो पुबारी टोल, दक्षिणबारी टोल, झहुरा चौक र पछबारी टोलमा आयोजित चुनावी कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।

सम्बन्धित खबर

सिफारिस