काठमाडौँ । रामेछापको मन्थली-खुर्कोट सडकखण्डमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेका छन्। मृतकका आफन्तले क्षतिपूर्ति र घटनाको छानबिनको माग गर्दै मन्थली-खुर्कोट सडकखण्ड अवरुद्ध गरेका हुन् ।
अवरोधका कारण सो मार्ग हुँदै सञ्चालन हुने सवारी साधन पूर्ण रूपमा प्रभावित भएका छन्। आन्दोलनरत पक्षले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेका छन्। माग पूरा नभएसम्म सडक नखोल्ने चेतावनी समेत दिएका छन्।
मंगलबार काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३-०१-०५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका-६ मसानटार नजिक सडकबाट तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरूको खुर्कोट र आसपासका स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरोध हटाउन स्थानीय प्रशासनले आन्दोलनरत पक्षसँग छलफल गरिरहेको बताइएको छ।