काठमाडौँ । नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको जीत सुनिश्चित भएको दाबी गरिएको छ। नवलपरासीको सरावलमा आयोजित निर्वाचन प्रचार-प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेताहरूले फागुन २१ गते हुने आम निर्वाचनमा कांग्रेसले स्पष्ट विजय हासिल गर्ने विश्वास व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै नेताहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको उम्मेदवारीलाई राष्ट्रिय राजनीतिक उद्देश्यसँग जोडेर व्याख्या गरे।
जिल्ला सचिव उमेश यादवले नेपाली कांग्रेस अबको सरकार निर्माण र देश विकासको नेतृत्व गर्न सक्षम शक्तिका रूपमा अघि बढिरहेको बताए। उनले कांग्रेसलाई बहुमत दिलाउन आवश्यक रहेको उल्लेख गर्दै गगन थापालाई प्रधानमन्त्री बनाउन नवलपरासीबाट विनोद चौधरीको जित निर्णायक हुने धारणा राखे।
क्षेत्रीय सभापति मुकुल आचार्यले गगन थापाको नेतृत्वमा अघि बढिरहेको कांग्रेस रूपान्तरण अभियानमा विनोद चौधरीको महत्वपूर्ण योगदान रहेको बताए। उनले गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशभर समुचित र सम्मानजनक विकासको आधार तयार गर्ने विश्वास व्यक्त गरे।
महासमिति सदस्य राधेश्याम चौधरीले किसानहरूले मल अभाव, बजार व्यवस्थापनको समस्या तथा सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती जस्ता चुनौती झेलिरहेको उल्लेख गर्दै ती विषयमा कांग्रेस गम्भीर अध्ययन गरी समाधानको पहल गरिरहेको बताए। दीर्घकालीन समाधानका लागि यस क्षेत्रबाट विनोद चौधरीलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी नेताहरूले फागुन २१ को निर्वाचनलाई कांग्रेसको नीति, नेतृत्व र विकास एजेण्डाप्रतिको जनसमर्थनको परीक्षणका रूपमा प्रस्तुत गरेका थिए।