‘फेक रेस्क्यु’मा पक्राउ परेकाहरुलाई संगठित अपराधमा अनुसन्धान शुरु, विचौलियाको दौडधुप !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकको विमा ठगी तथा फेक रेस्क्यु धन्दामा संलग्नहरुमाथि संगठित अपराधको कसुरमा समेत अनुसन्धान शुरु भएको छ ।
केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार (२५ माघ)मा पक्राउ गरेको लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनासहित यसअघि पक्राउ परेका ६ जना अभियुक्तलाई संगठित अपराध कसुरमा समेत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्न अनुमति पाएपछि यो मुद्दामा अब संगठित अपराध कुसुर समेत आकर्षित भएको हो ।

‘पक्राउ परेकाहरुमाथि संगठित अपराधमा समेत अनुसन्धान गर्न अदालतबाट अनुमति पाएका छौँ,’ सीआइबी स्रोतले दियोपोस्टसँग भन्यो,‘अब यसको जालो र नेक्ससहरु समेत खोजी हुनेछ ।’
ट्रेकिङ कम्पनि, रेस्क्यु कम्पनि, हेलिकोप्टर कम्पनि, अस्पताल, गाइड, हिमाली क्षेत्रका होटल र विदेशी पर्यटक समेतको मिलेमतोमा फर्जी उद्दार र विमा ठगी हुँदै आएको छ । सीआइबी स्रोतका अनुसार केही अस्पताल संचालक र रेस्क्यु कम्पनिका संचालकमाथि समेत अनुसन्धानका लागि पक्राउ अनुमति प्राप्त भएको छ ।

मुलुकी अपराध संहिता अनुसार संगठित अपराध मुद्दामा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई छुट छ । यसअघि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ उल्लेखित राष्ट्रहित विरुद्धको कसुरमा उनीहरुलाई म्याद थप गरी अनुसन्धान सुरु भएको थियो । यो कसुरमा पनि २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई छुट छ । हालसम्म ८४ दिनसम्म सीआइबीले अनुसन्धानका लागि म्याद पाउन सक्छ ।

विचौलियाको दौडधुप

पक्राउ परेकाहरुलाई छुटाउँछु भन्दै विचौलियाको काम गर्ने केही व्यक्तिमाथि समेत सीआइबीले निगरानी थालेको छ । ती विचौलियाहरु रकमको बार्गेनिङ गर्ने र सरकारी वकिल र अदालतमा मिलाउँछु भन्दै हिँडेका थिए । कतिपय विचौलियाले हाल सीआइबी प्रमुख रहेका एआइजी मनोज केसीको पृष्ठभूमि समेत खोजी गरेका थिए । तर, केसीले २ पटक युएन मिसनबाट फर्किएपछि जोडेको जग्गा घर बाहेकको भौतिक सम्पति मात्रै देखिएको र उनले पदमा रहँदा कुनै पनि अनैतिक उठबस समेत गरेको नभेटिएपछि विचौलियाहरु हच्किएका छन् । गत माघ ११ गते पक्राउ परेका एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रा.लीका संचालक मुक्ति पाण्डेको प्रतिनिधि बनेर प्रधानमन्त्री भेट्न पुगेका रास्वपा गोरखा १ का उम्मेदवार सुदन गुरुङले प्रधानमन्त्री कार्कीको खप्की खानु परेको छ । पाण्डे रास्वपाको तर्फबाट चुनावी कमाण्डरको रुपमा चुनिएका व्यक्ति समेत थिए ।

सीआइबीले फेक रेस्क्यु धन्दा गरेको अभियोगमा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लीका प्रमुख जयराम रिमाल, सोही कम्पनिका म्यानेजर विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्सका सेयर धनी तथा नेपाल चार्टर सर्भिसका मालिक मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी, विवेक थपलियालाई गत माघ ११ गते पक्राउ गरेको थियो ।

सिफारिस