काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिने चेतावनी दिएको छ । मुख्यमन्त्री शाहमाथि बिभिन्न आरोप लगाउँदै नेकपाले चित्तबुझ्दो जवाफ नदिए राजीनामा मागिने चेतावनी दिएको हो ।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल बनेको नेकपाले मुख्यमन्त्री शाह नेतृत्वको कांग्रेस-एमालेगठबन्धन सरकारलाई जवाफ दिन पत्रमार्फत १२ बुँदे माग गरेको छ ।
नेकपा संसदीय दलका नेता खगराज भट्टले सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारको कार्य प्रभावकारिता, सुशासन, भ्रष्टाचार र जनआन्दोलन विरोधी नीति माथि कडा प्रश्न उठाउँदै जवाफ नदिँदा सरकारको राजीनामा मागिने चेतावनी दिएका छन्।
नेता भट्टले भनेका सरकार भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा, प्रशासनिक बेथिति र बजेट कार्यान्वयनमा गम्भीर रूपमा असफल भएको र यसले जनतामा सरकारप्रतिको विश्वास घटाएको आरोप लगाएका छन् ।
नेकपाले १२ बुँदामा सरकारलाई लगाइएका मुख्य आरोपहरू निम्नानुसार छन् –
-प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफलता
-आवश्यक कानुन निर्माण गर्न असफलता
-बजेट कार्यान्वयनमा गम्भीर असफलता
-मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति
-अस्पतालहरूमा नियुक्ति ढिलाइ तथा सरकारमा भागबण्डा प्रवृत्ति
-संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न असफलता
-नीति आयोगमा बेथिति र भागबण्डा आधारित राज्यकोष दुरुपयोग
-लगानी सम्मेलनको नाममा अपारदर्शी र मनमानी खर्च
-सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल
-अस्थायी कार्यालय खोली मनमानी खर्च र आसेपासेलाई लाभ
-ऐन नबनाई गठन आदेशलाई प्राथमिकता
-समग्र रूपमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको अभाव
नेकपाले एक हप्ताभित्र लिखित र चित्तबुझ्दो जवाफ नआएमा मुख्यमन्त्री राजीनामा दिनुपर्ने र त्यसपछि सडक तथा प्रदेशसभामा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
शाह गत साउनमा कांग्रेस एमाले नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।