काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।
काठमाडौँका एसएसपी रमेश थापाका अनुसार पाठकविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो। उक्त नोटिसपछि उनी फिलिपिन्समा फेला परेका थिए। काभ्रे घर भएका पाठक सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो र अडियो सन्देश सार्वजनिक गर्दै धम्की दिँदै भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए।
उनलाई पक्राउ गरी स्वदेश ल्याउन इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक इन्स्पेक्टर फिलिपिन्स गएका थिए।
यसअघि पाठकसँग सम्बन्धित रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजङ्ग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।