काठमाडौँ, फागुन ५ । विभिन्न देशका लागि नवनियुक्त राजदुतहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनेभाका लागि नवनियुक्त नेपाली राजदुत मणिप्रसाद भट्टराई, थाईल्याण्डका लागि नेपाली राजदुत गणेशप्रसाद ढकाललगायतका राजदुतहरुले मुलुकको समृद्धिको सपना पूरा हुने गरी राजदूतको रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको हो । जेनेभाका लागि नवनियुक्त राजदुत भट्टराईले नेपालको व्यापारमा पहुँच बढाउन विश्व व्यापार संगठनसँग सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए ।उनले नेपाली बस्तुको बजार पहुँचका लागि आफूले गर्नुपर्ने पहलका बारेमा आवश्यक सुझाव दिन नेपालका उद्योगीहरुलाई आग्रह गरे ।
त्यसैगरी थाईल्याण्डका लागि नवनियुक्त नेपाली राजदुत गणेशप्रसाद ढकालले नेपालको व्यापार घाटा कम गर्न आफूले राजदुतको रुपमा उच्च प्राथमिकताका साथ काम गर्ने योजना अघि सारे । उनले नेपालको निर्यात व्यापारलाई बढाउन पनि आफूले पहल गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन नेपालका उद्योगीहरुको ध्यानाकर्षण पनि गराए ।
क्यानाडाका लागि नवनियुक्त राजदुत भृगु ढुंगानाले आर्थिक कूटनीतिलाई जोड दिने बताउनु भयो । उनले नेपालमा अन्तराष्ट्रिय लगानी भित्र्याउन पहल गर्ने योजना अघि सार्दै त्यसका लागि आवश्यक सहकार्य गर्न नेपालका उद्योगीहरुसँग आग्रह पनि गरे ।
ढुंगानाले नेपालको बस्तु अन्तराष्ट्रिय बजारमा सहज ढंगले पु¥याउन पनि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।