
चितवन, फागुन ६ । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।
रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाइका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । तीमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उनि बताउँछन् ।
नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उनि बताउँछन् । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको जानकारी दिएका छन् ।
प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको बताए ।
शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा (प्यारेन्ट) र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने लक्षण देखिने छ ।
बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा पर्ने गरेका छन् ।
विगत सात÷आठ वर्षयता एच नाइनका कारण वर्षेनी कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको किसानहरु बताउँछन् ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा वर्षेनी अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताउँछन् ।