गरिवलाई किन लाग्छ यस्तो रोग? ब्लड क्यान्सरले थलिएका तीन वर्षिय बालक जीवन मरणको दोसाँधमा

दियो पोस्ट  

रीता बुढाथोकी
काठमाडौँ । कन्चनपुर जिल्ला, पूनर्वास नगरपालिका, वडा नं. ९ बस्ने हर्कबहादुर कुवँरका तीन वर्षिय छोरा सम्राट कुवँर ब्लड क्यान्सरका कारण थलिएको १ वर्ष भइसकेको छ । तर छोराकोे उपचार गर्ने रकम हर्कबहादुर संग छैन ।

छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका हर्कबहादुर छोरा बिरामी भएको खवरले बिछिप्त बनेर घर फर्किए । सुरुमा रोग नै पत्ता लागेन । भारतबाट कमाएर ल्याएको र गाँउमै ऋण खोजेको पैसा रोग पहिचान गर्दैमा सकियो । जव, रोग पत्ता लाग्यो, त्यतीबेला उनीसंग थप उपचारका लागि पैसा थिएन । गाँउमा छिमेकीसंग पैसा सापटी मागेर जिल्ला अस्पताल कन्चनपुर पुगे । अस्पतालले थप उपचारका लागि काठमाडौँस्थित कान्ती बाल अस्पतालमा रिफर गरिदियो ।

८ महिनाकी गर्भवती श्रीमती र बिरामी छोरालाई लिएर गत साउनमा हर्कबहादुर राजधानी आए र काठमाडौँको महाराजगंगस्थित आरोग्य सेवा केन्द्रमा आश्रय लिन पुगे । आश्रममा आएको २ महिनापछि श्रीमती सुत्केरी भइन् । दोश्रो बच्चाको रुपमा छोरा जन्मियो ।

बिपत्ती पनि एकै पटक आउने रहेछ, सुत्केरी श्रीमती, नावालक शिशु र बिरामी छोरा सम्हाल्न हर्क बहादुरलाई निकै कठिन भयो । आफ्नो जीवनमा आँधी, हुरी र तुफान एकै चोटी आए जस्तो भयो हर्क बहादुरलाई । श्रीमती र नावालक बच्चाको स्याहारसुसार र बिरामी छोराको उपचार गर्ने जिम्मेवारी उनको काँधमा एकैचोटी आइलाग्यो । फेरि पनि उनले हिम्मत हारेनन् ।

यतिबेला सानो छोरा ६ महिनाको भइसकेको छ । ‘आश्रममा आएर बस्न थालेको पनि ८ महिना भन्दा बढी भईसक्यो । तर छोराको उपचारका लागि पैसा छैन’– हर्क बहादुरले दुखेसो पोखे । भन्छन्,– ‘मेरो छोरा पनि तपाँईहरुको छोरा जस्तै हो, आर्थिक सहयोग गरेर मेरो छोरालाई बचाइदिनुस् ।’ आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो छोराले उपचार नपाएको उनले बताए ।

कान्ति बाल अस्पतालमा केमो थेरापी भइरहे पनि पुरै ब्लड चेन्ज नगरेसम्म रोग निको नहुने उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् । तर यो उपचार निकै महंगो पर्ने भएकाले छोराको उपचार नहुने हो कि भन्ने पीरले हर्क बहादुर छट्पटाएका छन् । उनी भन्छन्,–‘हामी जस्ता गरिवलाई यती ठुलो रोग किन लाग्छ होला?’

अरु बच्चा स्कुल गएको देखेर सम्राटले पनि स्कुल जान रहर गरेको उनले बताए । छोरालाई पढाएर ठुलो मान्छे बनाउने उनको सपना छ । ‘पैसा नभएर मैले पढ्न पाइन, मैले पढ्न नपाए नि छोरालाई पढाउने ठुलो धोको छ ।’ उनले दियो पोष्टसंग बताए । तर उनको सपनाको बीचमा पहाड बनेर उभिएको छ छोराको रोग । छोरालाई निको भएर स्कुल गएको देख्नका लागि उनी आतुर छन् । त्यसैले आर्थिक सहयोगका लागि सबैमा अपिल गर्दै उनी भन्छन्,–‘कृपया, मेरो छोरालाई बचाइदिनुस्, मेरो छोराको उपचारका लागि आफु सक्दो आर्थिक सहयोग गरिदिनुस, मन्दिरमा गएर भेटी चढाउन पर्दैन ।’

(हर्क बहादुरलाई आर्थिक सहयोग गर्न चाहनुने महानुभावहरुले ग्लोबल आइएमइ बैँक पानीपाेखरी शाखाको खाता नम्बर ३३०७०१००४०७४४ रकम जम्मा गर्न सक्नुहुनेछ)

सिफारिस