शहीद गंगालाल हृदय केन्द्रमा टेण्डर सेटिङको पर्दाफास : एकै परिवारको दुई कम्पनिलाई ठेक्का !

दियोपोस्ट संवाददाता  

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा ’सेटिङ’ गरी भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । अस्पताल प्रशासन र निश्चित ठेकेदार समूहबीचको मिलेमतोले सार्वजनिक खरिद ऐनको धज्जी उडाएको भन्दै उजुरी दर्ता गराएको हो ।

कार्यकारी निर्देशक रवि मल्लले अस्पतालका लागि आवश्यक मेडिकल सामग्रीहरू भण्डारी समूह भनिने सिन्धु सर्जिकलसँग मिलेर बजार मूल्यभन्दा तीन गुणा बढीसम्मको दरमा खरिद गर्ने गरेको आरोप छ । यसका लागि निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी ‘स्पेसिफिकेशन’ तयार पारिने गरेको दाबी गरिएको छ ।

केही समयअघि १०–१२ लाख रुपैयाँमा पाइने अल्ट्रासाउन्ड मेसिन १० लाख रुपैयाँ प्रतिगोटाका दरले खरिद गरेर अनियमितता गरिएको र यसको उजुरी स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ । तर, नियामक निकाय भने रहस्यमयी रुपमा चुपचाप छन् ।

भण्डारी समूहसँग जोडिएका सिन्धु सर्जिकल कन्सर्न, सिट्रा ट्रेडिङलगायतका कम्पनीहरूले केन्द्रमा एकाधिकार जमाएको र यसले अस्पतालको आर्थिक स्वास्थ्य धराशायी बनाएको उजुरीमा उल्लेख छ ।

मन्त्रालय र अख्तियारमा परेका विभिन्न उजुरीमध्ये माइक्रो ईन्स्ट्रुमेन्ट आपूर्तिको ठेक्का भने विवादित रहेको तथ्यहरुले नै देखाउँछ ।

केन्द्रले प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा गुणस्तरीय र USFDA स्वीकृत सामग्री प्रस्ताव गर्ने कम्पनीलाई बाहिर राखेर निश्चित समूहलाई मात्र छनोट गरेको दाबी गरिएको छ । उजुरीमा सिन्धु सर्जिकल कन्सर्न प्रा.लि. र सोही परिवारका सदस्य (छोरा र छोरी) को नाममा रहेको सिट्रा ट्रेडिङ प्रा.लि. लाई मात्र छनोट गरी ‘एउटै परिवारलाई आर्थिक लाभ’ दिने नियत राखेको उल्लेख छ ।

ठेक्कामा सहभागी द मेडिकल सोलुसनले आफ्नो प्रस्ताव किन अस्वीकृत भयो भनी सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ (१) बमोजिम दिएको पुनरावलोकन निवेदनलाई अस्पतालले बेवास्ता गरेको समेत आरोप छ । निवेदन दर्ता गर्न जाँदा समेत अस्पतालले दर्ता गर्न अस्वीकार गरेको र इमेलमार्फत पठाइएको निवेदनको कुनै जवाफ नदिएको पाइएको उनीहरुको भनाई छ ।

निवेदकका अनुसार कम्पनीले आफूले प्रस्ताव गरेका सामानहरू नेपालभरका सरकारी अस्पतालमा सफलतापूर्वक प्रयोग भइरहेको र गुणस्तरीय (USFDA Approved) रहेको दाबी गर्दै अस्पतालले पूर्वाग्रह राखेर आफूलाई प्रक्रियाबाट बाहिर निकालेको आरोप लगाएको छ ।

उजुरीमा मिलेमतोमा संलग्न कर्मचारी र अस्पतालका पदाधिकारीहरूलाई कारबाही गर्नुका साथै मिलेमतोमा संलग्न बोलपत्रदाता (सिन्धु सर्जिकल र सिट्रा ट्रेडिङ) लाई कालो सूचीमा राख्न माग गरिएको छ ।

गंगालाल हृदयरोग केन्द्रले २०८२ फागुन १६ गते आर्थिक प्रस्ताव खोल्ने भन्दै गोरखापत्रमा सुचना प्रकाशन गरेको थियो । जसमा छनौट भएको पहिलो ठेक्का सिलिङ माउन्टेड डबल डोम अपरेशन थियटरको कामका लागि निक्की डिस्ट्रिब्युटर्स र सिट्रा ट्रेडिङ प्रा.लीको नाम छनौट गरिएको थियो । त्यस्तै माइक्रो इन्स्ट्रुमेन्टका लागि सिन्धुसर्जिकल कन्सर्न र सिट्रा ट्रेडिङको नाम छनौट भएको थियो ।

फागुन २५मा आर्थिक प्रस्ताव खोल्दा सिन्धु सर्जिकल र सिट्रा ट्रेडिङको नामा ठेक्का स्विकृत भएको थियो ।

अख्तियार र प्रधानमन्त्री कार्यालयमा परेको उजुरी अनुसार सिन्धु सर्जिकल यज्ञ बहादुर भण्डारीको नाममा छ । शेयर लगतमा सम्पूर्ण सेयर उनकै नाममा देखिन्छ । त्यस्तै सिट्रा ट्रेडिङमा सुसान्त भण्डारी र सुस्मिता भण्डारीको सेयर स्वामित्व छ । उनीहरु दुवैको बाबुको नाम सिन्धु सर्जिकलका संचालक यज्ञ बहादुर भण्डारीको नाम उल्लेख छ । उनीहरुको नागरिकता नम्बर समेत मिलेको देखिन्छ ।

अख्तियार र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमा त यो कम्पनिमा प्रधानमन्त्री बालेन शाहको सचिवालयमा कार्यरत सञ्जिव पाण्डेको समेत स्लिपिङ पार्टनरसिप रहेको दाबी समेत गरेको छ ।

सिफारिस