काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।
उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ। पार्टीभित्र लामो समयदेखि संसदीय दलको नेता चयनबारे अन्योल रहँदै आएको थियो। सहमतिको आधारमा टुंगो लगाउन उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो। सो कार्यदलले आङ्देम्बेकै नाममा सहमति गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको बताइएको छ।
यसअघि संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी लगायतका नेताहरू पनि आकांक्षी थिए। तर अन्ततः सहमतिको वातावरण बनेपछि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा अघि बढाइएको हो।
पार्टी स्रोतका अनुसार २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसले पहिलो पटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्न लागेको हो, जसलाई पार्टीभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ।
भीष्मराज आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। उनको चयनसँगै नेपाली कांग्रेसको संसदीय रणनीति र आगामी राजनीतिक भूमिकामा स्पष्टता आउने अपेक्षा गरिएको छ।