झापाकी कमला सम्बाहाम्फेमाथि लाखौं रुपैँया ठगीको आरोपः पीडित महिला न्यायको खोजीमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । झापा धुलाबारी-९ स्थायी घर भई उदयपुर जिल्ला त्रियुगा नगरपालिका-११ जलजले बजार बस्ने ५० वर्षीया कमला सम्वाहाम्फे लिम्बुविरुद्ध आर्थिक ठगीको आरोप लागेको छ। कमलालाई जलजले-६, गाइघाट निवासी इन्द्रकमला राईबाट १० वर्षअघि १७ लाख रुपैयाँ सापटी लिएर हालसम्म फिर्ता नगरी सम्पर्कविहीन भएको आरोप लागेको हो ।

कमलाले तीन महिनाभित्र फिर्ता गर्ने सर्तमा २०७१ मंसिर १९ गते घर खर्च चलाउन भन्दै रकम सापटी लिएको पीडितले बताइन् । कमला सम्वाहाम्फे आफ्नै माइती गाउँकी चिनेजानेकी महिला भएकाले उनलाई विश्वास गरेको पीडतको भनाई छ ।

इन्द्रकमला करिब १२ वर्षअघि खोटाङबाट गाइघाट झरेपछि दुवैबीच भेटघाट बढ्दै गएको थियो। पीडितका अनुसार कमलाले आर्थिक समस्या परेको भन्दै सुरुमा ५ लाख रुपैयाँ मागेकी थिइन्। ‘कमलाले यसरी ठग्छिन् जस्तो लागेकोको थिएन । सम्पन्न परिवारको छोरी भएकाले पनि उनले बेलैमा पैसा फिर्ता गर्छिन् जस्तो लागेको थियो । तर, पैसा फिर्ता गर्ने कुरा त परै जाओस, १० वर्षदेखि सम्पर्कमा आएकी छैनन्,’ उनले भनिन् ।

आफुसंग तत्काल नगद नभएकाले आफ्नो नाममा रहेको उदयपुर जलजले-६ स्थित १ कठ्ठा ८ धुर जग्गाको धनीपूर्जा कमलालाई दिएको र सोही पूर्जा देखाएर कमलाले पैसा लिई फरार भएको इन्द्रकमलाको ओराप छ । जग्गा धनी पूर्जा लगेको भोलिपल्टदेखि नै कमला सम्पर्कविहीन भएको पीडितले बताइन् ।

पछि आफू ठगिएको महसुस गरेपछि इन्द्रकमलाले धेरैपटक सम्पर्क गर्ने प्रयास गरेको बताइन् । उक्त जग्गा देखाएर लिएको ऋण र त्यसको ब्याजसहित १७ लाख रुपैयाँ आफुले तिर्नुपरेको र पैसा नभएका कारण अन्ततः जग्गा बेच्नुपरेको उनले दुखेसो पोखिन् ।

कमला काठमाडौँमा छन् भन्ने सुनेर उनलाई खोज्नका लागि कैयौँ पटक काठमाडौँ आएको तर भेटाउन नसकेको उनी बताउँछिन् । ‘काठमाडौँ आउँदा जाँदा खर्च मात्रै भयो । उनलाई भेटाउन सकिएन । कसैले भक्तपुरमा बस्छिन रे भनेको सुन्छु तर अहिलेसम्म भेटाउन सकेको छैन ।’

त्यसो त, कमलाकै कारण आफ्नो बैवाहिक तथा पारिवारिक जीवन समेत तहस नहस भएको भन्दै इन्द्रकमलाले दुखेसो पोखिन् । ‘कमलाकै कारण मैले आफ्नो जग्गा गुमाएँ। त्यसको असर मेरो वैवाहिक जीवनमा समेत पर्यो,’ इन्द्रकमलाले भनिन्, ‘जग्गाको विषयमा श्रीमानसँग निरन्तर विवाद हुन थाल्यो । कैयौँ पटक म माथि कुटपीट भयो । मलाई धेरै पटक घरबाट निकाल्न खोज्नु भयो । छोराछोरी छोडेर कहाँ जानु? बच्चाहरुका लागि उहाँको बचन र कुटपीट सहेरै बसे । अन्त्यमा ८ वर्ष अघि उहाँ मबाट टाढिनुभयो। अहिले उहाँले अर्कै विवाह गर्नुभएको सुनेकी छु।’

छ जना सन्तान (पाँच छोरी र एक छोरा) को जिम्मेवारी एक्लै बहन गरिरहेकी उनले आफू गम्भीर आर्थिक तथा सामाजिक समस्यामा परेको बताउँदै न्यायको माग गरेकी छन्। कमलालाई खोजी गरि आफ्नो गुमेको जग्गा र रकम फिर्ता गरिदिन उनले सम्वन्धित पक्षलाई आग्रह गरेकी छन् ।

यसअघि पनि कमला सम्वाहाम्फे लिम्बुले त्रियुगा नगरपालिका-१० निवासी बिमला विश्वकर्माको करिब साढे १६ धुर जग्गा हडपेको आरोप छ। साथै उनले इन्द्रकमला र बिमलासहित अन्य दर्जनौँ व्यक्तिलाई समेत आर्थिक जालसाजीमा पारेको स्थानीयको भनाई छ ।

कमला काठमाडौँमा लुकीछिपी बस्दै आएको र सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको पीडितले बताए । यस विषयमा दियोपोष्टले प्रतिकृयाका लागि सम्पर्क गर्न खोज्दा कमला सम्पर्कमा आइनन् ।

सिफारिस