काठमाडौँ । धादिङमा १७ वर्षअघि भएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वि.सं. २०६६ असोज १५ गते राति करिब २ः३० बजे नौविसे-थाक्रे खण्डस्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले हाल पक्राउ गरेको हो।
उक्त समयमा थाक्रेबाट नौविसेतर्फ जाँदै गरेको बा १५ प ६४७५ नम्बरको मोटरसाइकललाई बा २ ख ७७९२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक २७ वर्षीय रामचन्द्र थापा गम्भीर घाइते भएका थिए।
घाइते थापालाई उपचारका लागि वीर अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो। दुर्घटनापछि ट्रक चालक फरार रहेका थिए। प्रहरीका अनुसार फरार प्रतिवादी धुनिवेशी नगरपालिका-८ निवासी ४७ वर्षीय सुवास रेग्मीलाई वि.सं.२०८३ वैशाख १४ गते नीलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका रेग्मीलाई सोही दिन धादिङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।