महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व सम्वन्धि विविध कार्यक्रम सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिआएस)अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास, दिगो विकास लक्ष्य तथा मानव सेवा लगायतका विभिन्न क्षेत्रमा केन्द्रित कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ।

यसै क्रममा बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गर्दै ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत पृथ्वी दिवसको अवसरमा खप्तड छेडेदह गाउँपालिका वडा नं. १, काँडामा २,००० वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग प्रदान गरेको छ। हरियाली विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोतको उपयोग तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम र उपचार सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमलाई पनि बैंकले सहयोग गरेको छ। सो कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गरिएको छ।

ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले नेपालगञ्ज, बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै पठनपाठनमा सहयोग गरेको छ। साथै, युवामाझ जिम्मेवार वित्तीय व्यवहार र आर्थिक ज्ञान प्रवर्द्धन गर्न सातौँ नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ।

यसै अवसरमा, २०८२ चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२६ का क्रममा देशभर रहेका बैंकका शाखा तथा प्रादेशिक कार्यालयहरूमार्फत वित्तीय पहुँचबाट टाढा रहेका लक्षित वर्गहरूलाई समेट्दै वित्तीय साक्षरता, र्‍याली तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

बैंकले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै आएको महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

 

सिफारिस