काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ स्थित वडा कार्यालय भवनमै दिनदहाडै एक स्थानीयमाथि सांघातिक आक्रमण भएको घटना सार्वजनिक भएको छ। वडा नम्बर ३ का ४० वर्षीय थिरलाल पाण्डेलाई गत शुक्रबार बिहान करिब १० बजे चिनजानकै व्यक्तिले अत्यावश्यक कामको बहानामा कार्यालयमा बोलाई कुटपिट गरिएको हो।
परिवारका अनुसार तिलोत्तमा-५ निवासी ५२ वर्षीय मुकुन्द तिवारीले बोलाएपछि पुगेका पाण्डेमाथि तीन जनाले मिलेर आक्रमण गरेका थिए। गम्भीर घाइते भएका पाण्डेको बुटवल-११ स्थित चौराहा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
वडा नम्बर ३ का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले मुकुन्द तिवारीसँगै वडा नम्बर ७ का ४९ वर्षीय बासुदेव भट्टराई र वडा नम्बर ३ का ३२ वर्षीय अर्जुन भट्टराईले आक्रमण गरेको बताएका छन्। उनका अनुसार घटनाका बेला वडा कार्यालयमै लेनदेनसम्बन्धी छलफल भइरहेको थियो। “म केहीबेर बाहिर गएको बेला घटना भएको रहेछ, थाहा पाएपछि आक्रमणकारीलाई प्रहरीले जिम्मा लगाइएको हो,” उनले बताए।
पीडितका भाइ सुन्दर पाण्डेका अनुसार घटनाको दिनमै प्रहरीले तीनै जनालाई पक्राउ गरे पनि शनिबार परेको भन्दै भोलिपल्ट आफन्तको जिम्मामा छाडिएको थियो। उनले आइतबार किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय बुटवलले लिन नमानेको र सोमबार पनि आलटाल गरिरहेको गुनासो गरेका छन्। आक्रमणकारीले प्रहरीमा पहुँच प्रयोग गरी छुट्ने प्रयास गरिरहेको उनको आरोप छ।
पीडित परिवारले एक पूर्व सांसदले समेत आक्रमणकारीलाई बचाउन प्रहरी प्रशासनमाथि दबाब दिएको दाबी गरेका छन्। सुन्दरका अनुसार थिरलालको नाक, मुख र टाउकोमा गम्भीर चोट लागेको छ र अवस्था अझै चिन्ताजनक रहेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमनबहादुर जीसीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।