इनिसाकी आमाको गुनासोः मेरो छोरीको हत्या हुँदा पनि स्कुलबाट कोही आएनन्

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा बिककी आमा तिला बिकले छोरीको हत्या भएको हप्ता दिन भइसक्दा समेत  विद्यालय प्रशासन र शिक्षकहरूले कुनै चासो नदेखाएको गुनासो गरेकी छन्। उनले छोरीले पढ्दै आएको विद्यालयका कुनै शिक्षक वा कर्मचारीले फोन सम्पर्क समेत नगरेको भन्दै गुनासो गरेकी हुन् ।

इनिसाले पढ्दै आएको वीरेन्द्रनगरस्थित ‘उषा बालबाटिका विद्यालय’का शिक्षक तथा अन्य कर्मचारीहरु आफुलाई भेट्न नआएको प्रति तिलाले अश्यर्च ब्यक्त गरिन् । ‘मेरो छोरीको हत्या भएको हप्ता दिन भइसक्यो । तर, अहिलेसम्म स्कुलका शिक्षकहरू एकजना पनि आउनु भएको छैन। न त एक कल फोन नै गर्नु भएको छ,’ तिलाले भनिन्, ‘घटना भएदेखि प्रिन्सिपलको मोबाइल स्विच अफ छ। ट्युसन पढाउने शिक्षक पनि आउनु भएको छैन।’

यस्तो दुःखद घटनामा विद्यालयले साथ दिनु पर्ने भएता पनि विद्यालयले कुनै प्रतिक्रिया नदिएको उनले गुनासो गरिन्। ‘मेरो छोरीमाथि यस्तो घटना भएपछि त स्कुल बन्द गरेर उहाँहरु आफ्नो विद्यार्थीको न्यायका लागि रोडमा आएर आन्दोलन गर्नु पर्ने हो। तर स्कुलले कुनै मतलब नै गरेको छैन,’ उनले भनिन्।

घटनामा संलग्न पाँच जनामध्ये चार जना पक्राउ परेको जानकारी परिवारले पाएको छ। तर पक्राउ परेकाहरूले के बयान दिएका छन् भन्नेबारे आफूलाई केही जानकारी नभएको तिला बिक बताउँछिन्।

उनी भन्छिन्, ‘पक्राउ परेका चार जनालाई उनीहरूको पढाइ बिग्रिन्छ भनेर थुनामुक्त गर्ने प्रयास भइरहेको छ रे भन्ने सुनेकी छु। मेरो छोरी त अब फर्केर आउँदिन।’

उनले कुनै पनि अवस्थामा आफुहरुले न्याय पाउनु पर्ने अडान राखेकी छन् । पहुँच र पावरका आधारमा अपराधीलाई छुटकरा दिन नमिल्ने उनको भनाई छ । ‘एसइई दिने विद्यार्थीले त्यस्तो गलत काम गर्न मिल्छ त ? उनीहरूले पावर र पहुँच छ, हामीलाई कसैले केही गर्न सक्दैन, हामी त छुटेर निस्किन्छौँ भनेका छन् रे,’ उनीले गुनासो गरिन् ।

विद्यार्थी भएकै कारण यस्तो अपराधलाई छुट दिन नहुने बताउँदै दोषीलाई कडा कानुनी कारबाही हुनुपर्ने उनको माग छ । गरिब र विपन्न परिवारले न्याय पाउन गाह्रो हुने भन्दै उनले चिन्ता व्यक्त गरिन्। ‘गरिब दुखीले न्याय नपाउने रहेछ। पावर र पहुँचका कुरा आएपछि हामीले न्याय पाउने आशा मर्न थालेको छ,’ उनले भनिन्।

तिलाले आफ्नी निर्दोष छोरीको हत्या गर्ने दोषीलाई कुनै पनि हालतमा नछोड्न र कानुनी कारबाही गरी न्याय दिन राज्यसँग आग्रह गरेकी छन्।

‘मेरो निर्दोष छोरीलाई त्यसरी हत्या गरिएको छ। ती हत्यारालाई कुनै पनि हालतमा छोडिनु हुँदैन। मेरो छोरीलाई न्याय दिइयोस्,’  उनले आग्रह गरिन्।

इनिसामाथि बलात्कार गरी हत्या गर्ने पाँच जना रहेको आरोप छ। तीमध्ये चार जना हाल पक्राउ परेका छन् भने एक जना फरार रहेको बताइएको छ ।