निर्वाचन सुरक्षामा खटिएका १ लाखभन्दा बढी निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार देशभर सम्मानसहित बिदाइ गरिएको छ। आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका उनीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको कामनासहित बिदाइ गरिएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार देशभरबाट माघ १८ गते निर्वाचन प्रहरीहरूलाई नियुक्ति पत्र प्रदान गरिएको थियो।

निर्वाचन सुरक्षाका लागि देशभर कुल १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो। छोटो अवधिको तालिमपछि उनीहरू नेपाल प्रहरीसँग समन्वय गर्दै मतदान केन्द्रहरूमा परिचालित भएका थिए। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरू निरन्तर सक्रिय रहँदै जिम्मेवारी निर्वाह गरेका थिए। नेपाल प्रहरीले उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै मुलुकको शान्ति सुरक्षा र अमनचयन कायम राख्न उनीहरूले देखाएको समर्पण र कर्तव्यनिष्ठाको प्रशंसा गरेको छ।

साथै, निर्वाचनका क्रममा प्रदर्शन गरिएको अनुशासन, धैर्यता, पेशागत दक्षता र लगनशीलताले आगामी दिनहरूमा पनि राष्ट्रको शान्ति सुरक्षा, विकास र समृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।