पूर्वआइजीपी सर्वेन्द्र खनालसहित सचिव कृष्ण राउत विरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न परमादेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, निर्वाचन आयोगका सचिव कृष्ण राउतमाथि कर्तव्यज्यान कसुरमा अनुसन्धान गर्न परमादेश जारी भएको छ ।

२०७६ असार ५ मा सर्लाहीमा भएको कुमार पौडेल ‘इन्काउन्टर’ सम्बन्धि घटनाको अनुसन्धान गर्न सर्बोच्च अदालतद्वारा परमादेश जारी भएको हो । नेपाल प्रहरीका तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, मधेस प्रदेशका तत्कालीन डिआईजी हरीबहादुर पाल (अवकाशप्राप्त एआईजी), सर्लाहीका तत्कालीन सिडिओ हाल निर्वाचन आयोगका कृष्णबहादुर राउत, सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई (हाल एसएसपी), इन्स्पेक्टरद्वय किरणप्रसाद न्यौपाने र कृष्णदेव (केडि) साह, तत्कालीन सई सुर्यकुमार कार्की र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथी फौजदारी कसुरमा अनुसन्धान गर्न सर्बोच्च अदालतले परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु मनोज कुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त ईजलाशले यस्तो परमादेश जारी गरेको हो ।

सर्वोच्च अदालतले विहिबार यस्तो आदेश गरेपछि अब प्रहरीका पूर्व उच्च अधिकारीलाई फौजदारी कसुरमा पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नुपर्छ । मृतक पौडेलकी अामा दुर्गादेवि पौडेलले उनीहरु विरुद्ध फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै किटानी जाहेरी दिएकी थिइन् ।

पीडित परिवारकाे तर्फबाट अधिवक्ता बद्रि भुसाल , इन्द्र अर्याल लगायतले बहस गरेका थिए ।