काठमाडौँ । बुटवल उपमहानगरपालिका पून: विवादित बनेको छ । पछिल्लो पटक उपमहानगरपालिकाले ‘ज्योतिष’ तथा ‘कर्मकाण्ड’सम्बन्धी तालिम सञ्चालन गर्ने सूचना जारी गरेपछि सो कार्यक्रम विवादमा परेको हो ।
उपमहानगरपालिकाले ज्योतिष तथा कर्मकाण्ड (सहायक पुरोहित) सम्बन्धी तीन महिने निःशुल्क तालिम सञ्चालन गर्ने भन्दै बिहिबार सुचना जारी गरेको थियो । तर, धर्म निरपेक्ष समाजमा सरकारी स्तरबाटै यस्तो खालको कार्यक्रमको औचित्य नभएको भन्दै स्थानीय स्तरमा आलोचना सुरु भएको छ । केहीले अरु भन्दा फरक देखिन र चर्चा बटुल्न मात्रै यस्तो तालिम आयोजना गरिएको आरोप लगाएका छन् ।
सामाजिक अभियन्ता श्याम बराइलीले धर्म निरपेक्ष राष्ट्रमा सरकारी निकायले नै एउटा मात्र धर्मलाई संरक्षण र पक्षपोषण गर्ने अभियानमा लागेर राज्यको ढुकुटी स्वाहा पार्ने काम गरेको भन्दै यस कार्यको आलोचना गरेका छन् ।
स्थानीय कान्ती परियारले ‘कर्मकाण्ड’ तालिमका नाममा उपमहानगरपालिकाले हिन्दु धर्मको प्रचार गर्न लागेको आरोप लगाइन् । परियार भन्छिन्, ‘बुटबल उपमहानगरपालिकाले एउटा धर्मलाई मात्र प्राथमिकतामा राखेर यस्तो कार्यक्रम ल्याएको छ । जुन कुराको हामीले सुरुवातदेखि नै बिरोध गर्दै आएका थियौँ । हामीले बिरोध गर्दा-गर्दै कार्यक्रम ल्याइएको छ, यो गतल छ ।’
उनले समाज परिवर्तनका लागि पहल गर्नुको साटो एकल जाती र धर्मलाई मात्रै प्राथमिकता दिएर यस्तो खालको कार्यक्रम ल्याइएको बताइन् ।
रुपन्देहीका दलित अधिकारकर्मी हरिओम बिश्वकर्माले उपमहानगरले यस खालको कार्यक्रम ल्याएर रुढीबादी परम्परा, भाग्यमा बिश्वास गर्ने संस्कार र संस्कृतिलाई पुनरुत्थान गर्न लागेको आरोप लगाए । उनले भने, ‘समाजलाई पछाडितिर धकेल्न उपमहानगरपालिकाले यस्तो कार्यक्रम ल्याएको छ, जुन जति बिरोध गरे पनि कमै हुन्छ ।’
समाजलाई वैज्ञानिक दिशातिर अगाडी बढाउने कि पश्चगमन तिर धकेल्ने भनेर उपमहानगरका प्रमुखसंग छलफल गरि टुङ्गोमा पुगिने उनको भनाई छ ।
अर्का दलित अधिकारकर्मी तथा सामाजिक अभियन्ता पदम बिश्वकर्माले उपमहानगरको कदम अन्य धर्मलाई बिरोध गर्ने खालको भएको टिप्पणी गरे । ‘उपमहानगरपालिका जिम्मेवार भएको भए बौद्ध, मुस्लिम, इसाई जस्ता धर्मालम्बीहरुका लागि किन कार्यक्रम ल्याएन? एउटा धर्मका लागि मात्रै कार्यक्रम ल्याइनु भनेको अन्य धर्मको अपमान हो,’ उनले भने, ‘एउटा वर्ग र धार्मिक समुदायको मात्रै उत्थान गर्ने गरि कार्यक्रम ल्याइएको छ, हामी त्यसको बिरोध गर्छौँ ।’
उनले यस विषयमा उपमहानगरपालिकामा गई छलफल गरिने र तुरुन्तै कार्यक्रम बन्द गराईने बताए । उपमहानगरपालिकाले हिन्दु धर्म संरक्षणको नाममा ज्योतिष र कर्मकाण्डसम्बन्धी तालिम सञ्चालन गर्न लागेको स्थानीयको आरोप छ ।
यता, बुटबल उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७२,७३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गर्न लागिएको बताएको छ ।
उपमाहानगरले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित फागुन २८ गतेदेखि चैत १२ गतेसम्म उपमहानगरपालिकाको सामाजिक परिचालन तथा अन्तरसरकारी समन्वय शाखामा दरखास्त दिन सक्ने भन्दै सुचना समेत जारी गरेको छ । उपमहानगरपालिकाले दुई प्रकारका तालिम सञ्चालन गर्ने जनाएको छ ।
ज्योतिषसम्बन्धी तीन महिने तालिममा ज्योतिषका आधारभूत सिद्धान्त, राशिफल, ग्रह तथा नक्षत्र अध्ययन, पात्रो तथा पंचाङ्ग अध्ययन, कुण्डली निर्माण तथा सामान्य विश्लेषणसम्बन्धी विषय समावेश गरिने बताएको छ ।
त्यस्तै, कर्मकाण्ड (सहायक पुरोहित) सम्बन्धी तीन महिने तालिममा पूजाविधि तथा वैदिक मन्त्र अभ्यास, विवाह, ब्रतबन्ध, गृहप्रवेश, शान्ति, अग्नि स्थापना र चण्डी लगायतका धार्मिक कर्मकाण्डसम्बन्धी अभ्यास तथा पूजाविधि र धार्मिक संस्कारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने समेत सुचनामा उल्लेख छ ।
दुवै तालिमका लागि ३०-३० जना गरी ६० जना सहभागी छनोट गरिने उपमहानगरपालिकाले जनाएको छ । आवेदन दिने व्यक्तिहरू नेपाली नागरिक भई कम्तीमा १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने, कर्मकाण्ड तालिमका लागि भने देवनागरी पढ्न सक्ने र सामान्य संस्कृत उच्चारण गर्न सक्ने योग्यता आवश्यक पर्ने सुचनामा उल्लेख छ ।
