काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई फेक रेस्क्यु (नक्कली उद्दार) धन्दामा संलग्नहरुमाथि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले अनुसन्धान गरिरहेको छ । हालसम्म १० जना अभियुक्तहरुलाई पक्राउ गरि अनुसन्धान जारी छ । सीआईबी स्रोतका अनुसार बुधबार अभियुक्तहरुलाई ५ दिन म्याद थप गरि अनुसन्धान गरिएको छ ।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार सरकारी वकिल कार्यालयले अध्ययनका लागि समय मागेकाले अब छिट्टै मुद्दा बुझाउने तयारी छ । प्रहरी स्रोतका अनुसार फेक रेस्क्यु धन्दामा संलग्न विभिन्न कम्पनिका ३० व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा बुझाउने सीआइबीको तयारी छ । हाल १० जना हिरासतमा रहेपनि अन्य २० जना भने फरार सुचीमा छन् ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसारको संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुर गरेको अभियोगमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

सीआइबी स्रोतका अनुसार हेलि ईन अन कलका संचालक तथा ट्रेकिङ एजेन्सिज एशोशिएसन नेपालका पूर्व महासचिव विनोद सापकोटा पनि फरार छन् । उनको स्वामित्व रहेको कम्पनिका अन्य संचालक पनि फरार रहेको बुझिएको छ । उनीहरुले नेपाल घुम्न आउने अमेरिकन राहदानी बाहक भुटानी शरणार्थीलाई ठमेलकै रात्री क्लबहरुमा पुर्याएर रमाइलो गराउने र उनीहरुको राहदानी लिएर विरामी भएको भन्दै अस्पताल, हेलिकोप्टर कम्पनिको नक्कली बिल बिजक समेत तयार पारेर ठगी गरेको सीआइबी स्रोतको भनाई छ । उनीहरुकै समुहमा यसरी किर्ते काम गरेको भेटिएपछि सीआइबीले सन्दिप तिवारीलाई पक्राउ गरिसकेकाे छ ।

नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपेडिसनका संचालक समेत रहेका सापकोटा र उनका साझेदार धादिङ साङकोष ६ घर भएका डिल्ली प्रसाद लम्साललाई पनि प्रहरीले खोजिरहेको छ । राजधानीकै स्वाकन अस्पताल, ईरा अस्पतालका सञ्चालकहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अनुसन्धान थाले लगतै ३ दर्जन भन्दा ठगीका अभियुक्तहरु भारतमा लुकेर बसेको खुलेको छ । कतिपयले प्रहरीको सीआइबीलाई आर्थिक प्रभावमा पार्न भारतबाटै चलखेल गरिरहेका छन् । तर, हाल सीआइबीको नेतृत्वमा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मनोज केसीले यसअघि गरेका अधिकांश अनुसन्धानलाई टुंगोमा पुर्याएको र मोलाहिजा नगर्ने स्वभावका कारण विचौलियाहरुको कसरत खेर गएको छ ।

नवराज अम्गाइँ र हाल पक्राउ परि हिरासतमा रहेका मुक्ति पाण्डे
हाल सीआइबीको हिरासतमा रहेका मुक्ती पाण्डेले विभिन्न कम्पनिमा लगानी गरेको खुलेको छ । ती कम्पनिहरुको कारोबार माथि समेत सीआइबीले अनुसन्धान गरिरहेको छ । पाण्डेको लगानी रहेको तुल्सी काठमान्डुको कारोबार पनि शंकाष्पद देखिएको छ । यो होटलमा फेक रेस्क्युको रकम लगानी भएको अनुसन्धानमा खुलेपनि अन्य संचालकहरुमाथि कुनै अनुसन्धान भएको छैन । गोरखा घर भएका नवराज अम्गाईंले द थर्ड रक नामक कम्पनि र पाण्डेको बीचमा विभिन्न शंकाष्पद कारोबार छ ।

अम्गाइँले मुक्तिकै फेक रेस्क्यु धन्दाको रकममा विभिन्न अन्य कम्पनिमा समेत लगानी गरेको सीआइबी स्रोतले दियोपोस्टलाई बतायो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा क्षेत्र नम्बर १ को चुनावी कमाण्डर समेत रहेका पाण्डे पक्राउ परेपछि अम्गाइँले चुनावी कमाण्डरको मोर्चा सम्हालेका थिए । रास्वपाकै दबावमा अम्गाइँमाथि कुनै छानबीन नभएको आरोप ठमेलमा लाग्ने गरेको छ ।

पक्राउ परेका पाण्डे तुल्सी काठमान्डु होटल, बेस क्याम्प हेलिकोप्टर अनन्त होम थकाली, जलजला थकाली, काठमाडौं डे टुर्स, नेपाल क्यापिटल मायालु कृषि फर्म जस्ता कम्पनिका संचालक हुन् । अधिकांश कम्पनिमा व्यावसायीक साझेदार रहेका अम्गाइँ भने अनुसन्धानको दायरा बाहिरै छन् । सीआइबी स्रोतका अनुसार पाण्डेको स्वामित्व रहेको बेसक्याम्प हेलिकोप्टर रेस्क्यु र अम्गाइँको स्वामित्व रहेको द थर्ड रक ट्रेकिङ कम्पनिबीच विभिन्न शंकाष्पद कारोबार छ । तर, उनीमाथि सीआइबीले बयान समेत लिएको छैन ।
मनाङ एयरका मालिक समेत रहेका पाण्डेको बेसक्याम्प हेलिकोप्टर र एभरेष्ट एसिसटेन्स लगायतका स्थानमा हेलिकोप्टरको बिल आफै बनाउने गरेको समेत खुलेको छ । बेस क्याम्प हेलि चार्टर सर्भिसबाट १३ वटा नक्कली उद्दारको घटना भएको सीआइबी स्रोतको भनाई छ । गत माघ ११ गते आइतबार साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरेर अपरेशन थालेको थियो । नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी पक्राउ परेका थिए ।
त्यस लगत्तै सीआइबीले २५ माघमा श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरि अनुसन्धान थालेको थियो । सीआइबीले फागुन १३ गते विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष समेत रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेको थियो । उनले विचौलियाको काम गरेको समेत सीआइबीको आरोप छ । उनीसँगै रोयल होलिडेज एडभेन्चर्स एण्ड ट्राभल्स कम्पनिका संचालक सन्दिप तिवारीलाई पक्राउ गरेको थियो ।
गत फागुन २७ गते सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १ घर भएका पनारोमा हिमालय ट्रेकिङका संचालक पासाङ शेर्पालाई पक्राउ गरेको थियो । पछिल्लो समय ट्रेकिङ व्यावसायीलाई समेत धमाधम पक्राउ गर्न थालेको सीआइबीले थप केही व्यक्ति खोजी रहेको छ । तर, भारतमा लुकेर बसेका केहीलाई भारतीय प्रहरीकै समन्वयमा खोजी कार्यए भइरहेको सीआइबी स्रोतले जनाएको छ ।