इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न शिक्षा मन्त्रीको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तथा उच्च शिक्षाका लागि लक्षित इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू आगामी वैशाख १ देखि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। यस सम्बन्धमा मन्त्रालयले आइतबार एक औपचारिक परिपत्र जारी गर्दै सम्बन्धित निकायलाई यस्तो कार्यक्रमहरू चलाउन रोक्न निर्देशन गरेको हो ।

यस्ता कक्षाहरूले विद्यार्थीको शिक्षा प्रणाली तथा मनोवैज्ञानिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने गरेको देखिएको छ र यसले शिक्षामा समान पहुँच सुनिश्चित गर्ने पहलमा अवरोध सिर्जना गर्ने उल्लेख गरिएको छ। साथै, यी कक्षाहरूले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक बोझ थप्ने भएकाले बन्द गर्ने निर्णय आवश्यक भएको मन्त्रालयले जनाएको छ।

यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू समावेश हुने बताएको छ। यस्ता कक्षाहरू चलाउने निजी संस्थालाई नियमअनुसार बन्द गर्ने र उलंघन भए कडाइका साथ कारवाही गरिने उल्लेख छन्।