काठमाडौं । एमाले नेता महेश बस्नेत विरुद्ध उजुरी दिएकी शोभा पाठक ले पुनः पक्राउको माग गरेकी छन्। बस्नेतलाई आजै पक्राउ गरि अनुसन्धान अघि बढाउन माग गर्दै पाठक आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालय पुगेकी हुन्।
पाठकले बस्नेतमाथि आफूलाई यौन दुर्व्यवहार (जबरजस्ती करणी) गरेको आरोप लगाउँदै पहिले दर्ता गराएको जाहेरी कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
पाठकका अनुसार यसअघि दर्ता गरिएको मुद्दा प्रमाण नपुग्ने भन्दै तामेलीमा राखिएको थियो। तर नयाँ सरकार गठनपछि न्यायको अपेक्षासहित फेरि पहल थालेको उनको भनाइ छ।
उनले बस्नेतलाई तत्काल पक्राउ गर्न माग गर्दै राज्य संयन्त्रले मुद्दा अगाडि नबढाएको आरोपसमेत लगाएकी छन्। पाठकले आफ्नो मुद्दामा सरकारी वकिलले निष्पक्ष रूपमा काम नगरेको र आरोपितलाई जोगाउने प्रयास भइरहेको दाबी गरेकी छन्।
पाठकले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि विषय जोड्दै राजनीतिक संरक्षणका कारण बस्नेतमाथि कारबाही हुन नसकेको बताएकी छन्।
उता प्रहरीले भने यस विषय अदालतको प्रक्रियासँग जोडिएको भन्दै उच्च अदालतमा दायर निवेदनको टुंगो लागेपछि मात्र अगाडि बढ्न सकिने जनाएको छ।
शोभा पाठक पछिल्लो समय राजनीतिक तथा कानुनी गतिविधिका कारण चर्चामा रहँदै आएकी छन्। उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी थिइन् । सोही क्षेत्रबाट नेकपा एमालेको तर्फबाट महेश बस्नेतको पनि उम्मेदवारी रहेको थियो । बस्नेतले भारी मतान्तरले हार ब्यहोरेका थिए भने पाठकले पनि समेही क्षेत्रबाट पराजित भएकी थिइन् ।