* चन्द्रागिरी हिल्सको सिसा फुटाउने जेनजी आन्दोलनकारी विरुद्ध १ अर्ब ६४ करोडको विगो माग गर्दै मुद्दा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि तत्कालिन सरकारले निर्ममतापूर्वक दमन गरेको थियो । प्रहरीको गोली प्रहारबाट ३ बालबालीकासहित १९ जनाको २३ गते नै निधन भयो भने २४ गतेसहित ७६ जनाको मृत्यु भयो । यो घटनामा दमन गरेको अभियोगमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट च्युत हुनुपरेको थियो । गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेको छ । अहिले सोही बहुमतको आधारमा बालेन शाह प्रधानमन्त्री छन् । तत्कालिन प्रधानमन्त्री केपी ओली पक्राउपछि हिरासतमा छन् ।

यति ठूलो राजनीतिक परिवर्तनसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सुचीमा अर्बपति व्यापारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका पुत्र सचिन ढकालको समेत नाम समावेश थियो । तर, सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उनले आफ्नो नाम फिर्ता लिएका छन् । उनै ढकालको स्वामित्व रहेको चन्द्रागिरी हिल्स प्रा.लीले जेनजी आन्दोलनमा सहभागी भएका एक आन्दोलनकारीबाट १ अर्ब ६४ करोड भन्दा बढि क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेको पाइएको छ ।

एकातर्फ यही आन्दोलनको फाइदा उठाएर छोरालाई समानुपातिक सुचीमा पठाएका ढकालले यही आन्दोलनमा सहभागी भएका एक जना सामान्य व्यक्तिमाथि यतिठूलो मुद्दा लगाएको भेटिएको हो ।

गत भदौ २३ गते तत्कालिन सरकारले गरेको दमनको प्रतिरोधमा आएका चन्द्रागिरी नगरपालिका ७ का धर्मसिंह तामाङलाई चन्द्रागिरी हिल्स प्रा.लीमा तोडफोड गरेको भन्दै एक अर्ब ६४ करोड २४ लाख ५३ हजार ८ सय १६ रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता भएको छ ।

प्रहरी हिरासतमा रहेका सामानय किराना पसल संचालन गरि बस्ने तामाङले बयानका क्रममा आफू २३ गते सरकारले दमन गरेको प्रतिरोधमा २४ गते सडक आन्दोलनमा निस्किएको बयान दिएका छन् । जेन्जी आन्दोलनकै क्रममा आफू पनि चन्द्रागिरी हिल्समा गएको र आफूले एउटा भाटाले सामान्य सिसा मात्रै फुटाएको बयान दिएका छन् । आफूले आगजानी नगरेको आगजनी गर्ने मानिसहरु नचिनेको समेत बयान दिएका छन् । आगजनी गर्ने र डाँका चोरी गर्ने जस्ता कार्य आफूबाट नभएको उनले बयान दिएका छन् । तर, प्रहरी बृत्त थानकोटले तामाङमाथि तोडफोड र आगजनी समेत गरेको स्थापित भएको भन्दै अभियोग पत्र दर्ता गराएको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) ले निषेधित गरेको र उपदफा २ क अनुसारको कसुर गरेको आरोप लगाएको छ ।

यस्तो कसुरमा २ वर्षदेखि ५ वर्ष कैद र २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र विगो बराबरको क्षतिपूर्ति कसुरदारबाट भराउन माग गरिएको छ ।
तामाङलाई गत चैत्र ३ गते जरुरी पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको थियो ।

अपडेट 


चन्द्रागिरीको अभियोग पत्र संशोधन

चन्द्रागिरी हिल्सको जाहेरीको आधारमा यसअघि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको अभियोग पत्र सच्याएको छ । जिल्ला अदालतले आदेश दिइसकेपछि सच्याएको पाइएको हो । यसअघि पीडितलाई १ अर्ब ६४ करोड रुपैयाँ विगो दाबी गरिएको अभियोग पत्रमा उल्लेख थियो । जाहेरीकर्ता चन्द्रागिरी हिल्स भनेर उल्लेखित फाइलमा उपेन्द्र महतो तर्फबाट क्षेतिपूर्ति माग भएको थियो । दियोपोस्ट डटकमले यस विषयमा समाचार प्रकाशन गरेपछि हाल सरकारी वकिल कार्यालयले अभियोग पत्र संशोधन गरेको देखिन्छ ।

यसअघि पेश भएको अभियोग पत्रमा पीडितलाई १ अर्ब ६४ करोड विगो दाबी गरिएको थियो । तर, हालै महान्यायधिवक्ता कार्यालयमा अपलोड भएको अभियोग पत्रमा भने विगो रकम हटाइएको छ ।

महान्यायधिवक्ता कार्यालयले अभियाेग पत्र संशाेधन गरेपछि चन्द्रागिरि हिल्सका तर्फबाट अधिवक्ता हार्दिक सुवेदीले प्रकाशित समाचारकाे खण्डन गरेका छन् ।

उनले पठाएकाे खण्डन जस्ताकाे तस्तै राखिएकाे छ ।

 

सिफारिस