
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा भइरहेको संरचना भत्काउने काम प्रहरीले रोक लगाएको छ। अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट हुन सक्ने आशंकामा उक्त कदम चालिएको हो ।
प्रहरी स्रोतका अनुसार, पछिल्लो समय देउवा परिवारसँग जोडिएको सम्पत्ति तथा आर्थिक कारोबारसम्बन्धी विषयमा अनुसन्धान अघि बढिरहेको छ। यही सन्दर्भमा निवास परिसरभित्र रहेका संरचना भत्काउने कार्यले सम्भावित प्रमाणहरू नष्ट हुन सक्ने देखिएपछि तत्काल रोक लगाइएको हो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको उक्त घर केही दिनदेखि भत्काउने काम सुरु भएको थियो। तर, अनुसन्धानमा असर पर्ने देखिएपछि सुरक्षा निकायले हस्तक्षेप गर्दै काम स्थगित गराएको जनाइएको छ। अनुसन्धानमा संलग्न निकायहरूले आवश्यक कागजात, संरचना तथा अन्य भौतिक प्रमाण सुरक्षित राख्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।
यसअघि पनि देउवा परिवारसँग सम्बन्धित आर्थिक गतिविधि, जग्गा खरिद-बिक्री तथा बैंक कारोबारका विषयमा विभिन्न निकायहरूले विवरण संकलन गरिरहेको बताइएको छ । स्रोतका अनुसार, ती विवरणहरूलाई पुष्टि गर्न भौतिक संरचना र स्थान विशेषको निरीक्षण आवश्यक पर्ने भएकाले घर भत्काउन रोक लगाइएको हो।
यस घटनाले उच्च तहका राजनीतिक व्यक्तित्वसँग सम्बन्धित अनुसन्धान प्रक्रिया, प्रमाण संरक्षण र कानुनी प्रक्रियाको संवेदनशीलता पुनः चर्चामा आएको छ।