ओली पक्राउको विरोधमा एमालेद्वारा प्रदर्शनः प्रहरीसंगको झडपमा एकजना कार्यकर्ताको टाउको फुट्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा एक जना एमाले कार्यकर्ताको टाउको फुटेको छ।

ओली पक्राउपछि एमालेले देशभर विरोध कार्यक्रम घोषणा गरेको थियो। सोही कार्यक्रम अन्तर्गत काठमाडौंमा पनि कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनाव बढ्दै जाँदा स्थिति झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। झडपका क्रममा प्रहरीले भीड नियन्त्रण गर्न बल प्रयोग गरेको र त्यसक्रममा एक जना कार्यकर्ता गम्भीर घाइते भएको जनाइएको छ।

प्रहरीले भने अवस्था नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको दाबी गरेको छ। केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी पनि आएको छ।

ओलीलाई गत भदौ २३ र २४ गते भएको ‘जेन-जेड’ आन्दोलनका क्रममा भएको हिंसा र मानवीय क्षतिको घटनासँग जोडेर पक्राउ गरिएको थियो । उक्त आन्दोलनमा दर्जनौँको ज्यान गएको थियो।

उता, एमालेले भने ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। घटनापछि राजधानीको सुरक्षा अवस्था कडा पारिएको छ भने सम्भावित थप प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरी उच्च सतर्कतामा रहेको जनाएको छ।

सम्बन्धित खबर