नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनकालागि प्रदशनीमाार्ग स्थीत राष्ट्रिय सभागृहमा मतदान सुरू भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ बजेबाट सुरू भएको छ । मतदान अपरान्ह चार बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
करीब ३२ सय प्रतिनिधिहरुले कांग्रेसको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । केन्द्रीय नेतृत्वका ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धा गदै छन् ।
मतदान स्थल राष्ट्रिय सभागृहमा मतदानका लागि १२५ वटा बुथ निर्माण गरिएको छ । मतपत्र नौ किसिमका छन् ।
सभापतिको लागि छुट्टै मतपत्र छ । महामन्त्री र कोषाध्यक्षको भने एउटै मतपत्र छ ।
सबैभन्दा ठूलो मतपत्र प्रदेश केन्द्रीय सदस्य चयनको छ । ७ प्रदेशबाट २(२ जनाको दरले १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसका लागि ६७ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् ।
यसैगरी महामन्त्री पदमा पौडेल प्यानलबाट शशांक कोइराला, देउवा प्यानलबाट अर्जुन नरसिंह केसी र सिटौला प्यानलबाट गगन थापा प्रतिस्पर्धामा छन् ।
कोषाध्यक्ष पदमा पौडेल प्यानलबाट सितादेवी यादव, देउवा प्यानलबाट चित्रलेखा यादव र सिटौला प्यानलबाट उमाकान्त चौधरी छन् ।
कृष्ण कार्कीले कोषाध्यक्ष पदकोलागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।