काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१-००१ च ४९६४ नम्बरको बोलेरो जिप भैरवी गाउँपालिका-५ स्थित कालगौँडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका-५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका-४ का ३८ वर्षीय मित्र सुनार तथा शुभकालिका गाउँपालिका-६ की ५५ वर्षीया पुल्तीसरा विकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा शुभकालिका गाउँपालिका-४ का ३८ वर्षीय चक्र सुनार, २६ वर्षीय सुमत विक, ४० वर्षीय नैन सुनार, शुभकालिका गाउँपालिका-६ का २० वर्षीय भरत विक तथा शुभकालिका गाउँपालिका-५ का २५ वर्षीय कलम सुनार गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको थियो। घाइतेमध्ये सुमत विक र नैन सुनारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य तीन जना घाइते चक्र सुनार, भरत विक र कलम सुनारको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।