काठमाडौं । फोहोर संकलन गर्ने कम्पनिलाई करिब ७ करोड रुपैयाँ छुट दिएर राज्यलाई हानी नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको आरोप लागेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विदेश घुमघाममा लाखौँ रुपैयाँ खर्च गरेको भेटिएको छ ।
फोहोर व्यवस्थापनका नाममा विभिन्न मुलुक घुमघाम गरेको र राज्यकोषको लाखौँ रकम खर्च भएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । मेयर आचार्यले पनि केही कार्यक्रममा फोहोर व्यवस्थापनका लागि विभिन्न मुलुकको भ्रमण गरेको बताउँदै आएका छन् । तर, भ्रमण गरेर आएपनि पोखराको फोहोर व्यस्थापन हुन सकेको छैन ।

फोहोर व्यवस्थापनका लागि भन्दै महानगराट विभिन्न शिर्षकमा एकै आर्थिक वर्षमा २ करोड १ लाख खर्च भएको महालेखाले जनाएको छ । वडा नम्बर ३३ वडामा जग्गा प्राप्ती गर्नका लागि भनेर महानगरले २ करोड १ लाख रुपैयाँ खर्च गरेको तर, प्राप्ती गर्न नसकी संघीय सरकारलाई नै लेखी पठाएको महालेखाले जनाएको छ ।
फोहोर अध्ययन अवलोकनका लागि भन्दै मेयर आचार्यसहितका अधिकारीहरुले विभिन्न मुलुक तथा देशभित्रै भ्रमण गरेर ८ लाख ८० हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । महानगरबाट दैनिक १ सय ८० टन फोहोर उत्पादन हुने गरेको तर, फोहोरलाई मोहरमा परिणत गर्न महानगरपालिका असफल भएको छ । वडा नम्बर ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माणको नाउँमा गरिएको ठेक्कामा समेत सेटिङ गरिएको आरोप छ । अयोग्य ठेकेदारलाई केन्द्र निर्माृणको ठेक्का दिइएको र असफल भइसकेको धरान उपमहानगरपालिकाकै प्रणाली अबलम्बन गर्न लागिएको छ ।