पाठकीय प्रतिक्रिया: ‘इथरकाे थर’

- शून्य नयन  

~ इथरकाे थर ~ 

” नाटक ! “

” लेखक सरुभक्त ! “

” विज्ञान नाटक ! “

” एउटा नाटक त विज्ञान पढेकाले मात्र बुझ्छन् रे ! “

बस् यत्ति मात्रै कारणहरू प्रयाप्त थिए, मैले याे किताब पढ्नकाे लागि । नाटक मेराे पछिल्लो समयमा रुचि बढ्दै गइरहेकाे विधा । सरुभक्त त मलाई कति मन पर्छ, धेरैलाई थाहा भएकै कुरा । विज्ञान नाटक; एकाध सरुभक्तकै नाटक पढेपछि मन पर्न थालेकाे । त्यसमाथि विज्ञान पढेकाले मात्र बुझ्छन् भनेपछि म विज्ञान पढ्ने रहर जागेकाेले किन नपढ्ने ? 

बस् ! किताब पढियाे ! सकियाे ! 

आउनुस् “इथर”काे थर चिन्ने काेसिस गरौँ ! 

पछिल्लो समयमा विज्ञानलाई साहित्यसँग जाेड्न धेरै प्रयास भएका छन् । विज्ञान कथाहरू, विज्ञान उपन्यासहरू, विज्ञान नाटकहरू । मैले पढ्न बाँकी अरु केके पाे छन् ! 

तर मैले पढेका अधिकांश विज्ञान साहित्यहरू खल्ला हुन्छन् । सायद राम्रो छनाेट नभएर पाे हाे कि ?

अब विज्ञान साहित्य पनि लेख्नुपर्छ भनेर अभावपुर्ती गरे जस्ताे मात्र ! बलजफ्ती राेबाेटकाे कुरा गर्छन् ! घिसीपिटी ब्रह्माण्डका कुरा गर्छन् ! कथाकाे निमित्त प्लट सुन्दर हुन्छ, कथा पनि सुन्दर बन्छ ! तर पनि साहित्यकाे रस भेटिदैन । एआईले नै एआईकाे कथा लेखेजस्ताे ! 

कथावस्तुअनुसार कथाले बाेक्ने विचार नभेटिने अवस्था ! 

यी मेरा झ्याउलाग्दा गुनासा हुन् ! केही नहुनुभन्दा केही न केही पक्कै सुन्दर हुन्छ ! केही केही हुँदै धेरै हुँदै जाँदा कुनै न कुनै सुन्दर भेटिन पनि सक्छ !  भनेँ त ‘झ्याउलाग्दा गुनासा !’ 

***

“इथर” नाटक सङ्ग्रहमा चार नाटक छन् । पहिलाे नाटक ‘ईथरमा काेरिएकाे प्रेमपत्र” मात्र विज्ञान नाटक हुन् । अरूलाई दर्शनसम्बन्धी नाटक भन्न मिल्छन् हाेला । 

हामी विज्ञान नाटककाे कुरा गरौँ । नाटककाे समय भविष्य हाे । सरुभक्तले यसमा वैज्ञानिकले झैं कुनै सिद्धान्तकाे, कुनै आविष्कारकाे परिकल्पना गरेका छन् । त्यहि भएर विज्ञान पढेकाले मात्र बुझ्छन् भनिएकाे हुनुपर्छ । यद्यपि अहिलेकाे समयमा सायद अधिकांशले बुझ्लान् याे कुरा ! तर पनि विज्ञान हुँदा केही न केही असहजता पक्कै महशुस हुन्छ । किनभने यसले केवल कुनै फेन्टसीकाे मात्र कुरा गरेकाे छैन । विपना थाहा भएरै सपना देखेका छन् । 

कथाकाे मुल भाव चाहिँ संसारमा शान्ती सुरक्षाकाे नाममा जथाभावी हुन थालेकाे न्युक्लियरजन्य पदार्थकाे सङ्कलनकाे बारेमा हाे । एक वैज्ञानिक न्युक्लीय विकिरणका जैविक प्रतिराेधक क्षमताकाे खाेजमा लाग्छ । 

यहि सन्दर्भमा यस नाटककाे दृश्यहरू छन् । यसका साथै मानव-यान्त्रीक मानव (यामा) बिचकाे सम्बन्धहरू, मानवनिर्मित मानवहरू, विभिन्न प्रयाेगका यामाबिचकाे वैचारिक भिन्नताहरू छन् ।  त्यस्तै यान्त्रिक समयमा मानवहरूकाे भावनाकाे अवस्था पनि यसमा एकदम राम्रोसँग लेखिएकाे छ । 

सरुभक्तका विज्ञान साहित्यमा भेटिने भनेकाे केवल कल्पनाकाे उडान मात्र हाेइन । त्यस उडानलाई पनि सहि आधार दिएर रचना गरेका कारणले उनकाे रचनामा एउटा विज्ञान साहित्यप्रतिकाे एक गम्भीर चिन्ता भेट्न सकिन्छ र एक सुन्दर साहित्य सिर्जना भनेर महशुस गर्न सकिन्छ । उनकाे रचना पढ्दा यस्ताे लाग्छ हामीले केवल कथाकाे मात्र परिवेश नभई त्यस समयकाे पुरापुर चित्रण भेटिरहेछौ । जस्तो कि पात्रहरूबिच हुने संवादमा, पात्रहरूकाे दैनिकीमा असर पारिरहेका तमाम कुराहरूमा, यान्त्रिकतामा भएकाे विकास, यन्त्रहरूले साेच्ने, तर्क गर्ने शैलीहरूले हामीलाई यथेष्ट रुपमा कथावस्तुकाे समय बुझाउँछ । जसले गर्दा सिर्जना केवल अभावपुर्ती नभई एक साँच्चै बलियाे हस्ताक्षेप हाे भनेर महशुस गर्न सकिन्छ । 

जुन धेरै विज्ञान साहित्यमा भेट्न गाह्राे पर्छ । 

***

त्यस्तै यस सङ्ग्रहमा अरु नाटक दर्शनसँग सम्बन्धित छन् ।

‘गाेलार्द्धकाे कालाे आकाश’ नाटकले मानिसकाे अहमताकाे एक घिनलाग्दाे तर यथार्थ प्रस्तुत गर्छ । मानिसले मानिसलाई अहमकै कारण के के गर्छ/गर्नसक्छ भनेर देखाइएकाे छ । मानिसहरूले आफ्नाे अधिकारकाे निम्ति, आफ्नाे रहरकाे निम्ति, केवल आफूलाइ उच्चतम महशुस गराउनकाे निम्ति गर्ने व्यवहारहरू एकदम वैचारिक हिसाबले देखाइएकाे छ । 

त्यस्तै ‘ताण्डवनृत्य र अजम्मरी भ्वायलिन’ले चाहिँ मानविय साेचकाे जटिलताहरू प्रस्तुत गरेकाे छ । मानिस सर्वश्रेष्ठ मानिनु एक सत्यता हाे या केवल मानिसहरूकाे ‘मुतमाथिकाे न्यानाे’ हाे भनेर प्रश्न गरिएकाे छ । जिन्दगी एक सुन्दर घटना हाे या निराशाकाे जन्म हाे ? जस्ताे अस्तित्वका प्रश्नहरू उप्काउँछ र पाठकलाई साेच्नबाध्य बनाउँछ  

***

सङ्ग्रहकाे अन्तिम नाटक “विष्फाेटका तेस्राे पाइलाे”ले चाहिँ सम्बन्धले कसरी मानिसलाई बलियाे बनाउछ र त्यहिं सम्बन्धले मानिसलाई कसरी बर्बाद पारिदिन सक्छ भन्ने कुरालाई देखाउन खाेजेकाे छ । कुनै घटनालाई मौनताले विस्तारै कसरी आत्मसमर्पण गर्दै जान्छ । अथवा कुनै डरले विस्तारै सम्बन्धमा कसरी भय, दरार जन्माउँछ भनेर सरुभक्तले सुन्दर शैलीमा नाटकमा लेखेका छन् । 

समग्रमा हेर्दा नाटकहरू विज्ञान क्षेत्रकाे हाेस् या दर्शन क्षेत्रकाे हाेस्, यसले मानवका अहमहरूले केके हुन सक्छ भनेर वैचारिक र नाटकिय दुवैकाे मिश्रण गराई एक गम्भीर ध्यानाकर्षण गराउँछ । विचारहरू लेख्दै गर्दा भावनालाई पनि साहित्यमा कसरी सन्तुलित गराउनु पर्छ भन्ने कुरामा सरुभक्त हाेसियार देखिएका छन् । केही पाठकलाई विचार बढि लेखिएकाे लाग्न सके पनि प्रस्तुतिकरण सुन्दर हुनाले  पाठकहरू अल्झिने समस्या हुँदैन । 

नाटक भनेकाे केवल भावनाकाे व्यवस्थित नाच मात्र नभई विचारहरूकाे मौन जुलुुस पनि हाे भन्ने कुरा हामीले सरुभक्तकाे यस “इथर” नाटकबाट बुझ्न सक्छौँ । 

अस्तु ! 

 

सिफारिस