निर्मला पन्त हत्या प्रकरण: आरोपी विष्टका भिनाजु पत्रकार खेम भण्डारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष बितिसक्दा पनि घटनाका वास्तविक दोषी अझै पत्ता लाग्न सकेको छैन । यसबीच सरकारले घटनाको पुनः अनुसन्धान अघि बढाइरहेका बेला कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।

कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित समाचार प्रकाशनका विषयमा दर्ता भएको गाली-बेइज्जती मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो। सोही फैसलाको कार्यान्वयनका क्रममा उनलाई शुक्रबार बिहान भीमदत्त नगरपालिका-१८ को कटान क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले पत्रकार भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्थानीय दिलीप सिंह विष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा विष्टसँग विस्तृत बयान लिइएको थियो। विष्टले अदालतमा आफुले निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको स्वीकार गरेका थिए । उनले दिएको बयानमा आफू यसअघि २०६५ सालमा नारायणसिंह थापाको हत्या अभियोगमा दोषी ठहर भई नौ वर्ष कैद सजाय भोगेर २०७४ जेठ १५ गते रिहा भएको बताएका थिए।

सीआईबीको अनुसन्धानका क्रममा विष्टमाथि घटनामा संलग्न भएको आशंका गरिए पनि अन्ततः डीएनए नमिलेपछि उनीविरुद्ध अभियोग अघि बढ्न नसकेको भन्दै छाडिएको थियो ।

यद्यपि अनुसन्धानका क्रममा पाँच सय २९ जनासँग बयान, ७३ जनाको डीएनए परीक्षण तथा विभिन्न छानबिन समिति गठन गरिसकिएको भए पनि घटनाका वास्तविक दोषी अझै सार्वजनिक भएका छैनन्।

यसैबीच, पत्रकार खेम भण्डारीले सुरुदेखि नै दिलीप सिंह विष्ट निर्दोष रहेको दाबी गर्दै समाचार र सामग्री प्रकाशित गर्दै आएका थिए। उनले विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको र सीआईबीले यातना दिएर जबर्जस्ती बयान गराएको दाबी गर्दै आएका थिए।

पत्रकार भण्डारी दिलीप सिंह विष्टका भिनाजु रहेका कारण उनले पारिवारिक सम्बन्धका आधारमा पत्रकारिताको दुरुपयोग गर्दै विष्टलाई जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको थियो।

यसअघि २०७६ सालमा पनि निर्मला पन्त हत्या प्रकरणलाई तोडमोड गरी रहस्यमय बनाएको भन्दै प्रकाशित सामग्रीका कारण जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई ‘तुच्छ सजाय’ स्वरूप एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला सुनाएको थियो। अदालतले उक्त फैसलामा यस्तो प्रकृतिको सजाय सामाजिक तथा नैतिक रूपमा गम्भीर सन्देश दिने उल्लेख गरेको थियो।

भण्डारीले यसअघि टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’ मा आफूविरुद्ध सामग्री प्रसारण गरिएको भन्दै सञ्चारमाध्यम र तत्कालितन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपाललमा समेत उजुरी दिएका थिए।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका-१८ अन्तर्गत निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। देशव्यापी आन्दोलन र पटक-पटकको अनुसन्धानका बाबजुद बहुचर्चित उक्त घटनाका वास्तविक हत्यारा अझै पत्ता लाग्न सकेका छैनन्।

सिफारिस