काठमाडौँ । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न सरकार, प्राविधिक तथा सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएको छ। नेपाल वन प्राविधिक सङ्घ, बागमती प्रदेशद्वारा आयोजित “वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन” विषयक गोष्ठीमा सहभागीहरूले सरकारी तदारुकताको अभावका कारण यी क्षेत्रका समस्या झन् जटिल बन्दै गएको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले वन संरक्षण, जैविक विविधताको सुरक्षा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन तथा जलाधार व्यवस्थापनप्रति पर्याप्त ध्यान नदिइए देशको जैविक सम्पदा सङ्कटमा पर्ने चेतावनी दिए । उनले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनका चुनौती तथा सम्भावनाबारे सरोकारवालासँग गहन छलफल गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याए ।
गोष्ठीमा वन नीति तथा प्रशासनको आगामी दिशा, जलाधार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन, साथै दिगो वन व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशीय सिकाइ अनुभवका विषयमा चारवटा प्यानल छलफल आयोजना गरिएको थियो।
वन नीति र प्रशासन सुधारमा जोड
“वन नीति तथा प्रशासनको आगामी दिशा” विषयक पहिलो प्यानल छलफलको अध्यक्षता नेपाल सरकारका पूर्वसचिव डा। विश्वनाथ ओलीले गर्नुभएको थियो। वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनीले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान वन नीति तथा प्रशासनको अवस्था र भावी दिशाबारे जानकारी दिए ।
छलफलमा कोशी प्रदेशका सचिव डा. इन्द्रप्रसाद सापकोटा, वन तथा वातावरण विज्ञ डा. सिन्धु प्रसाद ढुङ्गाना, नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण तथा रेड कार्यान्वयन केन्द्रकी उपसचिव शोभा सुवेदीले सहभागिता जनाएका थिए। प्यानलको सहजीकरण नुवाकोटका डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले गरेका थिए । छलफलमा वन नीतिको वर्तमान अवस्था, सुधारका आवश्यकता र भावी कार्यदिशाबारे विचार विमर्श गरिएको थियो।
जलाधार व्यवस्थापनमा चुनौती र अवसर
दोस्रो सत्र ‘प्रदेशमा जलाधार व्यवस्थापन’ विषयमा केन्द्रित थियो। पूर्वसचिव डा. प्रेमनारायण कँडेलको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा वन तथा भू–संरक्षण विभागका पूर्वमहानिर्देशक बद्रीराज ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा वन तथा वातावरण मन्त्रालयका सहसचिव गणेश पौडेल, वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक नीराजन श्रेष्ठ, भू तथा जलाधार संरक्षण विभागका पूर्वमहानिर्देशक विजयराज पौडेल तथा मरिन परियोजना सिन्धुलीका टिम लिडर स्मृति रेग्मी सहभागी भएका थिए । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत सञ्जीव सुवेदीले सहजीकरण गरेको उक्त सत्रमा विभिन्न प्रदेशमा सञ्चालन भएका जलाधार व्यवस्थापनका कार्यक्रम, तिनको प्रभाव तथा भावी चुनौतीबारे चर्चा गरिएको थियो।
मानव-वन्यजन्तु द्वन्द्व र बाँदर व्यवस्थापनमा चिन्ता
मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन विषयक तेस्रो सत्रको अध्यक्षता पूर्वसचिव डा। कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो। प्राध्यापक डा. हरिप्रसाद शर्माले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व तथा बाँदर व्यवस्थापनका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजीवकुमार झा, वरिष्ठ इकोलोजिस्ट हरभद्र आचार्य, काठमाडौंका डिभिजन वन अधिकृत पुष्पराज बर्तौला, सगरमाथा राष्ट्रिय निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा राना तथा बाँदरपीडित किसान तिलप्रसाद लम्साल सहभागी थिए।
सहभागीहरूले बाँदर, बँदेल तथा दुम्सीबाट कृषि बालीमा बढ्दो क्षति, मानव-वन्यजन्तु द्वन्द्वका कारण सिर्जित सामाजिक तथा आर्थिक असर, र बाँदर व्यवस्थापन विगत दशकमा झन् जटिल बन्दै गएको विषयमा गम्भीर छलफल गरेका थिए। तीनै तहका सरकारले समन्वित रूपमा प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिइएको थियो।
दिगो वन व्यवस्थापनमा अन्तरप्रदेशीय अनुभव आदान-प्रदान
कार्यक्रमको अन्तिम सत्र ‘दिगो वन व्यवस्थापनःअन्तरप्रदेशीय सिकाइ अनुभव’विषयमा केन्द्रित थियो। त्रिभुवन विश्वविद्यालयका डा. राजेश राईको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेल तथा लुम्बिनी प्रदेशका वरिष्ठ डिभिजन वन अधिकृत विजयराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा बागमती प्रदेशका वन निर्देशक विद्यनाथ झा, वन तथा वातावरण विज्ञ शम्भु दंगाल, डिभिजन वन अधिकृत कृष्णराज न्यौपाने, फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा तथा एनएफएएफटीका उपमहासचिव रोजित बस्तीले धारणा राखेका थिए । भक्तपुरकी डिभिजन वन अधिकृत श्रद्धा सिग्देलले सहजीकरण गरेका थिइ । उक्त सत्रमा वनलाई उत्पादनमुखी र उद्योगमैत्री बनाउने उपाय, दिगो वन व्यवस्थापनका चुनौती तथा समाधानका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रदेश सचिव डा.केदार बरालसहित देशभरका वन तथा वातावरणसम्बन्धी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सङ्घका अनुसार वन तथा वातावरण क्षेत्रका समसामयिक समस्या, जलवायु परिवर्तनका प्रभाव, संरक्षणका चुनौती तथा समाधानका उपायबारे गहन छलफल आवश्यक महसुस भएपछि गोष्ठी आयोजना गरिएको हो। कार्यक्रममा वक्ताहरूले वन, वन्यजन्तु तथा जलस्रोत संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, समुदायको सक्रिय सहभागिता तथा दिगो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
गोष्ठीमा सहभागीहरूले कार्यक्रमले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनसँग सम्बन्धित समस्या, चुनौती र समाधानका उपायबारे साझा समझदारी विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
