काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेका बेला अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ अन्तर्गत बीमा विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका थिए।
आर्थिक वर्ष २०८१र८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा लेखा प्रणालीको प्रभावकारी कार्यान्वयन र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो। यस उपलब्धिले कम्पनीले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा स्थापित गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ।
अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले कम्पनीलाई अझ उच्चस्तरीय वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा थप जिम्मेवार बनाएको उल्लेख गरे। उनले कम्पनीप्रति विश्वास गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
चैत मसान्त २०८३ सम्मको तथ्याङ्कअनुसार नेपाल लाइफले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गर्दै लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याइसकेको छ। कम्पनीले हाल २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेर आफ्ना बीमित तथा आश्रित परिवारप्रतिको प्रतिबद्धता व्यवहारमै प्रमाणित गरेको जनाएको छ।
नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएर राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याएको छ। साथै, वित्तीय स्थायित्व, सुदृढ बजार अवस्था र दायित्व वहन क्षमताका आधारमा इक्रा नेपालबाट ‘AA-’ (डबल ए माइनस) क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा पनि आफ्नो पहिचान बनाएको छ।
हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ वटा कार्यालय तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेका छन्। सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता र ग्राहकप्रतिको उच्च प्रतिबद्धताका कारण नेपाल लाइफ नेपालीहरूको पहिलो रोजाइको जीवन बीमा कम्पनीका रूपमा आफ्नो नेतृत्वदायी स्थानलाई अझ सुदृढ बनाउँदै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’लाई आफ्नो मूल आधार बनाउँदै नेपाली नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।