रवि लामिछानेलाई भेट्न नपाएपछि रास्वपा कार्यालयमा दृष्टिविहीनले गरे प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौं । आफ्ना मागबारे जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले प्रदर्शन गरेका छन्। आफ्ना माग लिएर सभापति लामिछानेलाई भेट्न खोज्दा भेट गर्न नपाएपछि उनीहरु आक्रोशित बनेका हुन्।

फुटपाथमा गीत गाएर जिविकोपार्जन गर्दै आएका दृष्टिविहिनलाई सरकारले हटाए पछि उनीहरु केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । लामिछानेलाई भेट्न कार्यालयभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको भन्दै उनीहरुले नारावाजी गरेका थिए। आन्दोलनरत दृष्टिविहीनहरूले सुरक्षाकर्मीले सभापतिसँग भेट गराइदिने आश्वासन दिएर आफूहरूलाई झुक्काएको आरोप लगाएका छन्।

सडकपेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि काठमाडौं महानगरपालिका लगायत विभिन्न निकायले बलपूर्वक धरपकड गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूको भनाइमा सरकारले दृष्टिविहीन नागरिकका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न नसकेको मात्र होइन, सडकमा सानो व्यापार गरेर जीविकोपार्जन गर्ने अवसरसमेत खोस्ने प्रयास गरेको छ।