काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)मा आन्तरिक विवाद र नेतामाथिको कारबाहीको शृङ्खला जारी रहेको छ। पछिल्लो समय पार्टीभित्र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै नेता-कार्यकर्ताले पार्टी छाड्ने क्रम बढिरहेका बेला पार्टीले अर्का केन्द्रीय सदस्य काजी गुरुङलाई पनि निष्कासन गरेको छ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा बुधबार जारी विज्ञप्तिअनुसार संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत काजी गुरुङलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीबाट निष्कासन गरिएको हो।
विज्ञप्तिमा गुरुङले पार्टीको विचार, एकीकृत जनक्रान्तिको कार्यदिशा, नेतृत्व, पद्धति तथा अनुशासनविरुद्ध अवसरवादी र गुटगत गतिविधि गर्दै आएको आरोप लगाइएको छ। साथै पार्टीको नाममा आर्थिक अपचलन गरेको, पोखराको लिचीवारी जग्गा प्रकरणमा अनुचित आर्थिक लेनदेन गरेको, पार्टीका नाममा मुद्दा हेरेर रकम असुलेको, प्रदेश कार्यालयको जिन्सी सम्पत्ति हिनामिना गरेको तथा अराजकतावादी र फुटवादी गतिविधिमा संलग्न रहेको आरोप पनि लगाइएको छ।
पार्टीका अनुसार गुरुङले पार्टीविरुद्ध ‘गोयबल्स शैली’मा दुष्प्रचार गरेको, निष्क्रिय भइसकेका व्यक्तिहरूको किर्ते हस्ताक्षरसमेत प्रयोग गरी भ्रामक नामावली तयार पारी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत अफवाह फैलाएको भन्दै गण्डकी प्रदेश समितिले केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि पार्टीले पोलिटब्युरो सदस्य उमा भुजेल र नेता असल सीमाथि कारबाही गरेको थियो। पछिल्लो समय पार्टीभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निरंकुशता बढेको आरोपसहित केही नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम जारी छ।
विज्ञप्तिमा नेकपा (माओवादी) देश र जनताको वास्तविक राजनीतिक प्रतिनिधि शक्ति भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, जनअधिकार र समाजवादी व्यवस्थाका पक्षमा संघर्षरत रहेकाले विभिन्न शक्ति र अवसरवादी समूहले पार्टी तथा नेतृत्वविरुद्ध षड्यन्त्र र दुष्प्रचार गरिरहेको उल्लेख गरिएको छ। पार्टीले यस्ता गतिविधिबाट सचेत रहन आफ्ना कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गरेको छ।
