काठमाडौँ । मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ । उनको वीर अस्पतालस्थित बर्न आइसियु वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई बचाउन नसकेको जनाएका छन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो । आगलागीका कारण उनको अनुहार र श्वास नलीमा समेत गम्भीर क्षति पुगेको थियो । यसअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जानकारी दिएको थियो ।
नेपालीको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई अन्यत्र स्थानान्तरण गर्न नसकिएको अस्पतालले जनाएको थियो ।
उनको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा.पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सकीय टोली परिचालन गरेको थियो । टोलीमा युनिट प्रमुख डा। अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठसहित नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी थिए ।
विशेषज्ञ टोलीको निरन्तर निगरानी र उपचारका बाबजुद नेपालीको अवस्था सुधार हुन नसकी अन्ततः निधन भएको अस्पतालले जनाएको छ ।