काठमाडौं । पूर्व जनमुक्ति सेना तथा तत्कालीन नेकपा (माओवादी) निकट वाईसीएलका पूर्व केन्द्रीय सचिव अनिल पासवानमाथि ठगी गरेको आरोप लागेको छ । धनुषा जिल्लाको औराही गाउँपालिका–३, कपटौल स्थायी घर भएका पासवानले राजनीतिक पहुँच र चिनजानको आडमा विभिन्न व्यक्तिलाई आर्थिक ठगी गर्दै आएको आरोप लागेको हो ।
पासवानले एक भारतीय परिवारलाई नेपाल बोलाएर आर्थिक ठगी गरेको बताइएको छ । आरोप अनुसार, पासवानले हालै अमेरिकामा बसोबास गर्दै आएका भारतीय मूलका मेघराज सिंहबाट पैसा लिएर ठगी गरेका थिए ।
मेघराजले आफ्नो पुस्तक विमोचन कार्यक्रम नेपालमा गर्ने तयारीका क्रममा कार्यक्रम व्यवस्थापन तथा पुस्तक छपाइको जिम्मा दिन नेपालमा भरपर्दो व्यक्ति खोजेको र यही क्रममा अनिल पासवानसँग सम्पर्क भएको बताए । भाषागत सहजता र कम्युनिस्ट आन्दोलनबाट आएको व्यक्ति भएका कारण पासवानलाई विश्वास गरेको मेघराजले बताए ।
अनिलको फेसबुक अकाउन्ट हेर्दा नेपालका उच्च तहका नेता तथा पूर्वप्रधानमन्त्रीसँग खिचिएका तस्बिर देखेपछि उनी भरपर्दो व्यक्ति भएको आफूले अड्कल काटेको मेघराजको भनाइ छ । तर, पासवानले राजनीतिक आवरणमा आफूहरूलाई ठगी गरेको मेघराजको आरोप छ ।
मेघराजका अनुसार पासवानले सम्पूर्ण कार्यक्रमको जिम्मा आफूले लिने आश्वासन दिँदै पटक–पटक रकम मागेका थिए । त्यसपछि आफूले पासवानको बैंक खातामा एक लाख रुपैयाँभन्दा बढी रकम पठाएको उनले बताए ।
पुस्तक विमोचन र नेपाल भ्रमणका लागि भन्दै गत वैशाख २० गते (मे ३) मेघराजका परिवारका १५ सदस्य भारतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका थिए । नेपाल भ्रमण र पुस्तक विमोचन कार्यक्रम हुने भएपछि आफूहरू उत्साहित भएको मेघराजकी पत्नी नरेन्द्र कौर बताउँछिन् ।
तर, काठमाडौं पुगेको भोलिपल्टै पासवान सम्पर्कविहीन भएको उनले गुनासो गरिन् । पासवानका कारण काठमाडौंमा आफूहरूको बिचल्ली भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामी सपरिवार पहिलो पटक नेपाल आएका थियौँ । भारतीय रुपैयाँ नचल्ने भएका कारण मेरो श्रीमान्ले अनिलको खातामा पैसा पठाउनुभएको थियो । तर अनिलका कारण न त पुस्तक विमोचन भयो, न त हामीले घुम्न नै पायौँ ।’ होटलमा बसेको पैसा समेत तिर्न नसकेपछि तीन दिनसम्म होटलमै बन्धक भएर बस्नुपरेको उनको भनाइ छ ।
पुस्तक विमोचन गर्न र काठमाडौँ घुमाइदिने जिम्मा लिएर पासवानले आफूहरूलाई धोका दिएको उनले आरोप लगाइन् ।
पासवानले नेपालका ‘प्रधानमन्त्री’ बालेन्द्र शाहको हातबाट पुस्तक विमोचन गराइदिने आश्वासनसमेत दिएको मेघराजले बताए । ‘कम्युनिस्ट पार्टीमा जिम्मेवार पदमा बसेको व्यक्ति भएकाले विश्वास गरेका थियौँ, तर पैसा हात पर्नासाथ उहाँ एकाएक सम्पर्कविहीन हुनुभयो,’ मेघराजले गुनासो गरे ।
मेघराज लामो समयदेखि अमेरिकाबाट ‘भ्वाइस अफ मानवता’ नामक न्यूज च्यानल सञ्चालन गर्दै आएका छन् । उनी दक्षिण एसियामा जातीय विभेदविरुद्ध विभिन्न पुस्तक लेख्दै आएका लेखकसमेत हुन् । उनका पुस्तक नेपाली भाषामा समेत अनुवाद भएका छन् ।
पासवान मधेश प्रदेश सरकार अन्तर्गत पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवका स्वकीय सचिवको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनी तत्कालीन वाईसीएलका पूर्व केन्द्रीय सचिवसमेत हुन् ।
नेकपाकी नेतृ तथा मधेश प्रदेशकी पूर्वमन्त्री सुनिता यादवले अनिलको गलत गतिविधिका कारण पार्टीभित्र पनि धेरै आलोचना हुने गरेको बताइन् । ‘उहाँ पहिले प्रदेश प्रमुख तिलक परियारको सचिवालयमा पनि काम गर्नुभएको रहेछ । यस्तै गतिविधिका कारण उहाँ त्यहाँबाट हटाइनुभएको भन्ने सुनिएको थियो । यस्ता अराजक व्यक्तिका कारण सिंगो पार्टी बदनाम भइरहेको छ,’ उनले भनिन् ।