काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएलगत्तै आइतबार साँझ भारतीय सशस्त्र सीमा बल (एसएसबी) सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणधिन तटबन्धको काम रोक्न दबाव दिएको छ । एसएसबी टोलीले सुस्ता गाउँपालिका ५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको हो ।
सएसबीको दबाबपछि निर्माणको काम रोकिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिए । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय पक्षले आपत्ति जनाएपछि निर्माण कार्य प्रभावित भएको छ।
एसएसबीको टोली प्रबेश गरि काम रोक्न दबाब दिएपछि निर्माणको काम रोकिएको भन्दै अध्यक्ष उपाध्यायले चिन्ता व्यक्त गरे । उनका अनुसार निर्माणस्थलमा करिब ४० देखि ५० जना भारतीय सुरक्षाकर्मी पुगेका थिए र कामबारे आपत्ति जनाएका थिए।
नदी कटान तथा डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लगानीमा तटबन्ध निर्माण भइरहेको छ। स्थानीय तहका अनुसार आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा पछिल्लो घटनाले अन्योल सिर्जना गरेको छ।
उपाध्यायका अनुसार भारतीय पक्षले लामो समयदेखि उक्त क्षेत्रबारे दाबी गर्दै आएको छ। तटबन्ध निर्माण अन्तिम चरणमा पुगिरहेका बेला देखिएको अवरोधले आयोजना अगाडि बढाउने विषयमा चुनौती थपिएको उनले बताए।
स्थानीयवासीले नारायणी नदीको कटानका कारण वर्षौंदेखि समस्या भोग्दै आएको बताउँदै तटबन्ध निर्माणलाई अत्यन्त आवश्यक परियोजनाका रूपमा लिएका छन्। उनीहरूका अनुसार यसले बस्ती तथा खेतीयोग्य जमिन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।