रास्वपा सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गतेसम्म भारतमा रहने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन्। उनले भाजपाका शीर्ष नेताहरूसँग द्विपक्षीय हित, क्षेत्रीय सहकार्य तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

राजनीतिक भेटवार्तासँगै लामिछानेले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। साथै, भ्रमणकै क्रममा उनले अयोध्याको व्यक्तिगत भ्रमणसमेत गर्नेछन्।

सभापति लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल भारत गएको हो। टोलीमा रास्वपाका सह-महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्।

रास्वपाका अनुसार भ्रमण अवधिभर हुने विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ।