प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति युवा सङ्गठनहरूको आपत्ति, राजीनामाको माग

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न चार युवा सङ्गठनहरूले प्रधानमन्त्री बालेन शाहले नेपालको सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार’ र ‘राष्ट्रघाती’ भनेका छन्।

युवाहरुद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार, प्रतिनिधिसभाको बैठकमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूभाग कब्जा गरिरहेको विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ, भन्ने अभिव्यक्ति दिएका थिए। युवा सङ्गठनहरूले उक्त भनाइ नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताविपरीत रहेको तथा स्थापित ऐतिहासिक तथ्यसँग मेल नखाने बताएका छन्।

विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली भूमि भारतलाई सुम्पने कुनै षड्यन्त्रको संकेत त होइन भन्ने आशंका समेत पैदा गरेको उल्लेख गरिएको छ। साथै, भारतले समेत दाबी नगरेको विषय प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा अभिव्यक्त हुनु गम्भीर र आपत्तिजनक रहेको दाबी गरिएको छ।

युवा नेताहरूले प्रधानमन्त्री शाह र उनको पार्टीले विगतमा विभिन्न विषयमा ‘मिडिया ट्रायल’ गर्ने गरेको आरोप लगाउँदै यो अभिव्यक्ति पनि त्यही प्रवृत्तिको निरन्तरता हुन सक्ने बताएका छन्। उनीहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग गरेर जनतालाई भ्रमित गर्न खोजिएको आरोप समेत लगाएका छन्।

विज्ञप्तिमा प्रधानमन्त्री नेतृत्वको सरकारले सुकुम्बासी बस्तीमा गरेको धरपकड, बजेटमा निम्न तथा निम्न(मध्यम वर्गलाई प्राथमिकता नदिएको, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारका लागि ठोस कदम नचालेको तथा शिक्षा, स्वास्थ्य र विद्युत् महसुलमा कर लगाएर जनतामाथि थप भार बढाएको आरोप पनि लगाइएको छ।

युवा सङ्गठनहरूले यस्ता गतिविधिलाई जनविरोधी र राष्ट्रहितविपरीत भएको दाबी गर्दै प्रधानमन्त्री शाहलाई नेपाली जनतासँग माफी मागी राजीनामा दिन आग्रह गरेका छन्। साथै, आम युवाहरूलाई यस्ता प्रवृत्तिविरुद्ध विरोध प्रदर्शन र जनस्तरबाट सशक्त प्रतिवाद गर्न आह्वान गरिएको छ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङ, वाइसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका संयोजक धर्म शाही तथा नेपाल समाजवादी युवा संघका प्रमुख विजय खड्काले हस्ताक्षर गरेका छन्।

सम्बन्धित खबर

सिफारिस