धादिङमा अवैध सिसौको काठसहित दुई जना पक्राउ, १०४ क्यूफिटभन्दा बढी काठ बरामद

दियोपोस्ट संवाददाता  

काठमाडौँ । धादिङ प्रहरीले अवैध सिसौ जातको गोलिया काठ ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाएको छ।

पक्राउ पर्नेमा मिनी ट्रक चालक नीलकण्ठ नगरपालिका-९ निवासी ४२ वर्षीय नवराज श्रेष्ठ र नीलकण्ठ नगरपालिका-६ स्थायी घर भई हाल वडा नं. ३ मा बसोबास गर्दै आएका ६५ वर्षीय गणेशकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिइएका दुवै व्यक्ति तथा बरामद काठलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय धादिङबेँसीमा पठाएको जनाएको छ।

प्रहरीले नीलकण्ठ नगरपालिका-३ पुछारबजारस्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा बा ५ ख ६१९३ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गरेको थियो। नीलकण्ठ नगरपालिका-९ निवासी ४२ वर्षीय नवराज श्रेष्ठले चलाइरहेको उक्त ट्रकको पछाडि ढालामा अवैध सिसौ जातको गोलिया काठ फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जेठ १५ गते साँझ करिब ५ बजे त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबाट धादिङबेँसीतर्फ अवैध सिसौको काठ बोकेको मिनी ट्रक आउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

बरामद काठको नापजाँच गर्दा १०४.३७ क्यूफिट रहेको पाइएको थियो। उक्त काठ रितपूर्वक बरामद गरी ओसारपसारमा संलग्न देखिएका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।