प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि पर्याप्त छलफलका लागि विषयगत समितिमा पठाउनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले सदनमा विरोध जनाएका हुन्।

बैठकका क्रममा विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए भने केही सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए। त्यसपछि सभामुखले संसद्को नियमित कार्यसूची अघि बढाउन नसकिने अवस्था देखिएपछि बैठक स्थगित गरेका हुन्।

यस क्रममा सांसद बासना थापाले नियमावलीको मस्यौदामा परेका संशोधनहरूलाई विषयगत समितिमा पठाएर विस्तृत छलफल गरिनुपर्ने माग राखिन्। उनले संसद्को नियमावली जस्तो महत्वपूर्ण विषयमा व्यापक सहमति र गम्भीर अध्ययन आवश्यक रहेको बताउँदै संशोधन प्रस्तावहरू समितिमार्फत टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरिन्।

विपक्षी दलहरूले नियमावलीका केही प्रावधानबारे असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूको माग सम्बोधन नगरी प्रक्रिया अगाडि बढाउन खोजिएको आरोप लगाउँदै सदन अवरुद्ध पारेका हुन्। विपक्षीको अवरोधका कारण संसद्को कार्यसूची प्रभावित भएको छ भने आगामी बैठकमा दलहरूबीच थप छलफल हुने अपेक्षा गरिएको छ।

राजनीतिक सहमति जुटाएर नियमावली संशोधन प्रक्रिया अघि बढाउने वा विषयगत समितिमा पठाउने विषयमा संसद्भित्र थप परामर्श जारी रहने जनाइएको छ