महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपा स्थानीय नेता पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जाजरकोटस्थित स्थानीय नेता मोहन विक्रम शाही महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। शाही रास्वपाका कुशे गाउँपालिका सभापति हुन्।

प्रहरीका अनुसार जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका-६ घरङ्गास्थित स्वास्थ्य चौकी भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेका थिए। घटनापछि पीडित पक्षबाट परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार शाहीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी शाहीलाई हिरासतमा राखिएको जनाएको छ।