त्रासका कारण तेह्र पटक ठेगाना परिवर्तन गरेका दिदीबहिनीको कहानी

दियो पोस्ट  

साउदी अरेबियामा मानव अधिकार अवस्थाबारेको अन्तर्राष्ट्रिय चर्चामा पछिल्लोपल्ट जीवनरक्षाका निम्ति गुहार मागिरहेका दुई महिला जोडिन पुगेका छन्।

रवन (परिवर्तित नाम) सँग पछिल्लो छ महिना आफ्नो जीवनको व्याख्या गर्ने एउटा मात्र शब्द छ-त्रास।

मृत्युदण्ड दिइन सकिने देशमा फर्काइने त्रास र कानुनी अन्योलमा रहेका उनी र उनकी बहिनी रीमले कम्तीमा १३ पटक ठेगाना परिवर्तन गरेका छन्।

पारिवारिक बिदाका क्रममा भागेका साउदी अरेबियाका यी दिदी-बहिनी हङकङमा अलपत्र छन्।

घरमा हिंसात्मक दुर्व्यवहार बेहोरेको र पुरुष नातेदारबाट “घरेलु कामदार”को जस्तो व्यवहार गरिएको उनीहरूले बीबीसीलाई बताए।

घरमा हिंसा

ती १८ र २० वर्षका दिदी-बहिनी एउटा कट्टर साउदी मुस्लिम परिवारमा हुर्किएका हुन्।

जहाँ महिलालाई पुरुषको संरक्षकत्वअन्तर्गत राखिन्छ, सधैँ निगरानी गरिन्छ र उनीहरूले आफ्नो ‘मृत भविष्य’ बाहेक केही देख्दैनन्।

रवनले भनिन्, “उनीहरूले हाम्रा प्रत्येक कदम निगरानी गर्छन्, हाम्रो जीवनको हरेक कुरा नियन्त्रण गर्छन्।”

आफ्नो पहिचान लुकाउन उपनाम जुराएका रीम र रवनले ‘महिलामाथि पुरुषलाई नियन्त्रण गर्न दिने’ दाबी गर्दै इस्लाम धर्म त्यागेका छन्। साउदी अरेबियामा त्यसो गर्नु मृत्युदण्डको सजाय हुने अपराध मानिन्छ।

साउदी महिलाहरू परिवारिक हिंसाबाट जोगिन भाग्न खोज्ने पछिल्ला अनेकौँ घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

दीर्घकालीन योजना

छ महिनाअघि यी दिदी-बहिनी शरणार्थीको मान्यताको खोजीमा अस्ट्रेलिया जाँदै थिए।

तर हङकङ पुगेकाबेला त्यहाँस्थित साउदी वाणिज्य दूतावासका अधिकारीहरूले उनीहरूको यात्रामा हस्तक्षेप गरेका थिए।

उनीहरूले सन् २०१६ देखि नै पैसा बचत गरिरहेको र भाग्ने योजना बनाइरहेको बीबीसीलाई बताए।

उनीहरू रवनको १८ औँ जन्मदिन पर्ने गरी निर्धारित श्रीलङ्काको पारिवारिक भ्रमणको प्रतीक्षामा थिए। जुन घरमा बुवाले सेफमा थुनेर राख्ने गरेको पासपोर्ट उनीहरूको हात लाग्ने राम्रो अवसर थियो।

अन्तर्वार्ता दिँदै दुई बहिनी
साउदी दिदीबहिनी १८ र २० वर्षका छन्

साउदी अरेबियाको ‘पुरुष संरक्षकत्व प्रणाली’ अन्तर्गत एउटी महिलाले पासपोर्टको निम्ति आवेदन दिन, देश बाहिर यात्रा गर्न, सरकारी छात्रवृत्तिमा विदेश अध्ययनमा जान, बिहे गर्न तथा दुर्व्यवहार पीडितको आश्रयस्थलबाट बाहिरिन र जेलमुक्त हुन पनि पुरुष नातेदारको अनुमति लिनुपर्छ।

गत सेप्टेम्बरमा उनीहरू सुटुक्क कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थल जान सफल भए, जिन्स पाइन्ट लगाए र अस्ट्रेलियाको निम्ति उडे।

तर हङकङ पुगेपछि जब उनीहरू अर्को जहाज चढ्ने तयारीमा थिए। तिनीहरूको पासपोर्ट खोसियो र त्यहाँभन्दा अगाडिको उनीहरूको उडान रद्द गरिएको बताइयो।

‘हामीलाई हाम्रो अधिकार थाहा छ’

रीम र रवनका अनुसार उनीहरूले दिना अलि लस्लूमलाई सम्झिए जसलाई सन् २०१७ मा अस्ट्रेलिया जाँदा रोकियो र मनिला विमानस्थलबाट जबरजस्ती साउदी अरेबिया फिर्ता गरिएको थियो।

उनी कहाँ छिन भन्ने कसैलाई थाहा छैन। तर ह्युमन राइट्स वाचले उनले केही समय रियादस्थित एउटा शिविरमा बन्दी जीवन बिताएको बताएको छ।

दिदी-बहिनी दुवैले हङकङमा साउदी अधिकारीहरूको डर नमान्ने बताए।

रीमले भनिन्, “हामीलाई हाम्रो अधिकार थाहा छ। हामी सजिलै तारो बन्दैनौँ। गल्ती गर्ने उनीहरूनै हुन्, हामी होइनौँ। हामी त केवल बाँच्न (जीवित रहन) चाहन्छौँ।”

सडकमा साउदी महिला
साउदी अरेबियामा महिलामाथि पुरुष संरक्षकत्व प्रणाली लागू छ

उनीहरूले आफ्नो योजनाबारे आपसमा छलफल र कानेखुशी गरे अनि दुबई जाने जहाजमा चढ्न अस्वीकार गरे।

दिदी-बहिनीले ती मानिसहरूको हातबाट आफ्नो कागजपत्र खोसे तर त्यसबेला उनीहरू अगाडिको उडान नभएको यात्रुको रूपमा हङकङ विमानस्थलको ‘ट्रान्जिट’ क्षेत्रमा थिए।

अन्तर्राष्ट्रिय काण्ड

रीम र रवनको विषय यो वर्ष महिलाले साउदी अरेबिया छाडेर भागेका दोस्रो ठूलो घटना हो।

जेनुअरीमा अस्ट्रेलिया पुग्ने प्रयास गर्दा ब्याङ्ककको मुख्य विमानस्थलमा रोकिएकी १८ वर्षीया रहफ मोहम्मद अल-कुनुनलाई क्यानडाले शरणार्थीको मान्यता दिएको थियो।

उनले आफूलाई आफ्नो परिवारले कुरिरहेको कुवेत जान अस्वीकार गरेकी थिइन् र विमानस्थलको होटलको कोठामा आफूलाई थुनेर बसेर अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेकी थिइन्।

ह्युमन राइट्स् वाचले हालैका वर्षहरूमा आफ्नो परिवार छाडेर भाग्न खोज्ने साउदी महिलाहरूको थुप्रै घटनाको अभिलेख तयार गरेको छ। जबरजस्ती फर्काइँदा उनीहरूले ‘दुर्व्यवहारको जीवन’ जिउनुपर्छ।

रहफ मोहम्मद अल-कुनुन
जनवरीमा घरबाट भागेकी साउदी किशोरी रहफ मोहम्मद अल-कुनुनलाई क्यानाडाले शरणार्थीको मान्यता दिएको छ

एपी समाचार संस्थाले उद्धृत गरेको श्रम तथा सामाजिक विकास मन्त्रालयको सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार सन् २०१५ मा ५७७ जना साउदी महिलाले आफ्नो घरबाट भाग्ने प्रयास गरेका थिए।

तर सामाजिक लज्जाका कारण कैयौँ परिवारले घटनाको उजुरी नगर्ने भएकाले उक्त सङ्ख्या अझ धेरै नै बढी हुनसक्ने एपीले उल्लेख गरेको छ।

‘सम्मानविहीन’

“जब हामीले शरणार्थीको मान्यता पाउन अरू मुलुकमा भागेर जान सफल भएकाहरूलाई खोज्न थाल्यौँ हामीलाई आफ्नो लागि त्यो सम्भव भएको ठान्यौँ।” रवनले भनिन्, “हामीलाई प्रेरित गर्ने मानिसहरू पनि भेटिए।”

उनका अनुसार साउदी अरेबियामा उनीहरूको “कुनै सम्मान” छैन।

“म १२ वर्षको हुँदादेखि उनीहरूले मलाई खाना बनाउन बाध्य पार्थे। जब बहिनी जन्मिइन् हामीले उसलाई हुर्कायौँ।”

बुवा र घरका पुरुष सदस्यहरूले आफूहरूलाई निरन्तर अपमानित गर्ने र कुटपिट गरेर सजाय दिने गरेको ती दिदीबहिनीको भनाइ छ।

“मेरो जीवन केवल उनीहरूको सेवाको निम्ति थियो, म निकै निराश थिएँ, कुनै भविष्य देखेकी थिइन। उनीहरूले मेरो शिक्षा र कुनै पनि आवश्यकताबारे मतलब गर्दैनन्। उनीहरूको मूल ध्यान मलाई एउटी असल श्रीमतीको रूपमा तयार गर्नुमा थियो।”

अनिश्चित भविष्य

चिनियाँ भूभागमा प्रवेश गरेदेखि नै आफूहरूलाई साउदी वाणिज्य दूतावास र परिवारजनले पछ्याइरहेको दिदीबहिनी बताउँछन्।

अवैध बनाइएको पासपोर्टका साथ उनीहरूले तेस्रो देशमा आपत्‌कालीन भिसाका लागि आवेदन दिएका छन्।

र, उनीहरूको अधिकांश समय मानिसहरूको सहयोगको भरमा तयारी चाउचाउ खाएर अनि आफ्नो अनिश्चित भविष्यको चिन्ता गर्दै बितिरहेको छ।

रियादमा एक महिला गाडी चलाउँदै
साउदी अरेबियामा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध सन् २०१८ मा हटाइएको थियो

रवन भन्छिन्, “हङकङमा हाम्रो जीवन भनेको सधैँभरि लुकेरै बित्ने गरेको छ। हामी विभिन्न ठाउँमा १३ पटक सरिसक्यौँ: छात्रावास, होटल, शिविर र निजी फ्ल्याटहरूमा।”

“हामी आफै कहीँ जान डराउँछौँ। त्यो सबै डरका कारण हो।”

छायाभन्दा बाहिर

यति हुँदा पनि ती दिदीबहिनीलाई छायाबाट बाहिर आएको महसुस भएको उनीहरूको अनुभव छ।

विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्दै गरेकी रीम भन्छिन्, उनले साउदी अरेबियामा आफूहरूका जीवनका बारेमा लेख्‍ने, कविता लेख्ने अनि विश्वका बारेमा थाहा पाउने सपना देख्छिन्।

उनले मानव अधिकार र महिलाको सम्मान हुने अनि स्वतन्त्र रूपमा बोल्न पाउने देशमा बस्ने सपना पनि देखेको बताइन्।

रवन पनि भन्छिन्, उनी सुरक्षित जीवन जीउन र खुशीसाथ जीवन अघि बढाउन चाहन्छिन् र त्यस्तो देशमा बस्न चाहन्छिन् जहाँ उनलाई आफ्नो निर्णय आफैँले गर्ने स्वतन्त्रता होस्।विविसीबाट