अछाम, चैत १३ ।अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ चलेको छ। विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो।
विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीले जनाएको छ। तर, स्थानीयका अनुसार विप्लव कार्यकर्तालाई लक्षित गरी प्रहरीले नै ७ राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ। गिरफ्तार पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन्।
प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ। दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।
विप्लव नेतृत्वको सेना अछाम प्रवेश गरेको आशंकामा सोमबार अछामको गैरीटाडमा सेनाको बाक्लो उपस्थिति देखिन्थ्यो। जिल्लाको विनायक, कमलबजारलगायतका क्षेत्रमा सादा पोसाकमा सेना खटिएको जानकारी प्राप्त भएको छ।
सुमार्गीको जग्गा कब्जा गर्ने नेता पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्वद्ध जनपरिषदका तमुवान प्रदेश संयोजक किसानसिंह तमु पक्राउ परेका छन् ।
उनलाई मंगलबार कास्की प्रहरीले पोखरा लेखनाथस्थित निवासबाटै पक्राउ गरेको हो ।
निर्माण व्यवसायी तमु पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा थिए । उनी लेखनाथ निर्माण व्यवसायी समिति पूर्वअध्यक्ष समेत हुन् । उनकै निर्देशनमा विप्लवका कार्यकर्ताले लेखनाथ पट्नेरीमा रहेको व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री कम्पनीका नाममा रहेको २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ । सो पार्टीले केही दिनअघि सुमार्गीको जग्गामा झण्डा गाडेर कब्जा गरेको थियो ।
नेपालसमाचारपत्र दैनिकबाट