प्यारो कमरेड परिवर्तन
हार्दिक न्यानो अभिवादन !
साथै सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना ।
विशेष लामो समयको अन्तरालपछि नयाँ योजना सम्प्रेषणको अत्यन्तै उत्साहजनक हलबाटै छोटो पत्र लेख्दै छु । आईरहे धेरै विचार, केही भावना अनि स्नेह सदभाव र सुकिला पत्रहरू निरन्तर ।
मालेमावाद र प्रचण्डपथले अँगाल्ने सर्वहारा वर्गको उत्तम कोशेली लाल सलामका पोकाहरू ।
आत्मैदेखि ग्रहण गर्दै रह्यो तिम्रो प्यारो कमरेड आशिष, गर्दैछ र गरिरहने छ । तर यो समयको यस खण्डमा पत्राचार गरी रहने बाचा हुँदाहुँदै पनि प्रिय मित्रलाई सानो जवाफ समेत लेख्न सकेन ।
नरिसाउनु ल, यसमा माफ !
कमरेड, विश्व सर्वहारा वर्गको सेवाका निम्ति लडिरहने जबसम्म मालेमावाद र प्रचण्डपथ विचार रहिरहने छ, त्यतिन्जेलसम्म संसारको कुनै पनि कुनामा रहनु किन नपरोस् या पत्राचारको निरन्तरतामा समस्या किन नपरोस् हाम्रो आफ्नै प्रकारको विश्वास, आफ्नो आत्मीयता हराउने कुरा त परै जावस् एकरत्ति पनि घट्ने छैन । म पूर्ण विश्वस्त छु ।
नयाँ योजनाको पर्खाईमा प्रतिक्षा गरिरहनु भएको छ होला । “विशिष्ट परिस्थितिको विशिष्ट कार्यभार” योजना अन्तर्गत विशेष गरी रणनैतिक वास्तविक सन्तुलनमा पुगेको ठोस आँकलन सहित राणनैतिक आक्रमणमा पुग्न कार्यनैतिक आक्रमणको तयारीका कामहरू ठोस भएर आएका छन् ।
कार्यन्वयनको चरणमा उत्रिएका हाम्रा हतियारलाई धारिलो बनाउन सङ्गठन, राजनैतिक, वैचारिक, भौगोलिक क्षेत्रमा व्यापक सुदृढीकरण, तिब्र विस्तार गर्दै सम्पूर्ण चिजको केन्द्रीकरण गर्ने र नयाँ तरिकाका साथ विश्व साम्राज्यवादसँग लड्ने सुनौलो सम्भावना युक्त अवसर पकड्ने र गम्भीर चुनौतीको सामना गर्ने नै यो योजनाको स्प्रीट रहेको मेरो बुझाई छ ।
आ–आफ्नो स्तरमा यसको सम्प्रेषण होला नै ।
कमरेड,
अहिले जिल्लाको योजना ठोस भईरहेको छैन । कार्यक्षेत्रको पनि किटानी छैन । त्यसैले आउँदो दिनको पत्राचारको ठेगाना दिन असमर्थ छु । त्यसपछि पठाउने नै छु ।
अन्तमा सम्पूर्ण कमरेडहरू लाई हार्दिक सलाम सुनाई दिनुहोला । अन्य कुराहरू पत्रमा उल्लेख गर्न यो छोटो समयमा सकिन । गणेशजी मार्फत बुझ्नु हुनेछ ।
हवस्त, अर्काे पत्रमा या भेटमा
उही आशिष (रमेश कुमार मल्ल)
२०५९।४।१०
सन्दर्भ : सल्यानको ढाकाडाम निवासी रमेश कुमार मल्ल ढोरचौरमा सम्पन्न जिल्ला भेलाबाट अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष निर्वाचित भएपछि म पनि त्यही भेलाबाट जिल्ला समितिमा आएको थिएँ । भेला अघि र पछि सङ्गठनमा उहाँले निकै नजिकबाट नेतृत्व गर्नुभयो । तर, धेरै लामो समय विद्यार्थी सङ्गठनमै रहेर सहकार्य गर्ने अवसर भने परिस्थितिले दिएन । उहाँ पार्टीको अर्काे जिम्मेवारीमा जानु भयो ।
अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा विद्यार्थी नेता तिलकराज भण्डारीद्वारा संकलित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकबाट साभार ।