अवैध आयात बन्द भएपछि बजारमा केराको भाउ उकालो, प्रतिदर्जन ३५० रुपैयाँसम्म

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतीय सीमाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै रोक लगाएपछि हाल नेपाली बजारमा केराको अभाव देखिएको छ। नेपाली उत्पादन कम भएका कारण आपूर्ति घट्दै केराको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।

नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार केही समयअघिसम्म भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिने भएकाले बजारमा अभाव देखिँदैनथ्यो। तर सङ्घकै पहलमा त्यस्तो कारोबार नियन्त्रण गरेपछि आपूर्ति शृङ्खलामा अचानक कमी आएको बताइएको छ।

सङ्घका अध्यक्ष अमर बानियाँका अनुसार स्वदेशी उत्पादन पर्याप्त नभएकै अवस्थामा अवैध आयात रोकिँदा बजारमा अभाव सिर्जना भई मूल्य बढेको हो। अहिले गुणस्तरीय केराको कमीका कारण कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नु परेको अवस्था छ।

व्यवसायीहरूले यो मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति घटेको प्रत्यक्ष असर भएको दाबी गरेका छन्। विशेषगरी पाँचतारे होटल र ठूला रेस्टुरेन्टहरूमा उच्च गुणस्तरको ‘ग्रेडिङ’ गरिएको केराको माग बढी हुने भए पनि स्वदेशमै त्यस्तो उत्पादन अभाव हुँदा महँगोमा खरिद गर्नुपरेको उनीहरूको भनाइ छ।

यता किसानहरूले भने आफूहरूले प्रतिदर्जन ५० देखि ८० रुपैयाँमै केरा बजार पठाउने गरेको बताउँदै बिचौलियाकै कारण मूल्य बढेको आरोप लगाएका छन्।

सीमानामा कमजोर निगरानीका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको भन्दै यसमा कडाइ गर्नुपर्ने माग पनि उठेको छ। विशेषगरी पुसपछि स्वदेशी उत्पादन घट्ने समयमा अवैध आयातमार्फत बजार कब्जा गर्ने प्रवृत्ति देखिँदै आएको भए पनि अहिले त्यस्तो गतिविधि पूर्ण रूपमा रोकिएको जनाइएको छ।

सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भरता हासिल भएको दाबी गरे पनि वास्तविक उत्पादन करिब ३० प्रतिशत मात्र रहेको अध्यक्ष बानियाँले बताएका छन्। उनले आयात नियन्त्रणसँगै स्वदेशी उत्पादन बढाउन ठोस नीति आवश्यक रहेको र किसान तथा व्यवसायीबीच समन्वय गर्नुपर्नेमा जोड दिए।

यसबीच व्यवसायीहरूले आफ्ना समस्या राख्न कृषि मन्त्रालयसँग भेटको समय माग्दा पनि बेवास्ता भएको गुनासो गरेका छन्। वर्तमान संकट समाधानका लागि सरकारी पहल अत्यावश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।